Kakhara सबैको खबर सम्पूर्ण खबर
युरो कपमा आज तीन खेल, कुन देशले कुन देशसंग प्रतिस्पर्धा गर्दै छन् ?

युरोकपमा आज तीन खेल हुँदैछन् । आज हुने पहिलो खेलमा फ्रान्स र हंगेरी आमनेसामने हुनेछन्। साँझ पौने सात बजे हंगेरीको फेरेन्क पुस्कास स्टेडियममा हुने खेलमा यी दुई टोली प्रतिस्पर्धामा उत्रने छन् । विश्वकपमा साविक विजेता फ्रान्सले यसअघिको खेलमा उपाधिको सदाबहार प्रमुख दावेदार जर्मनीलाई १-० गोलअन्तरले हराउँदै सुखद सुरुवात गरेको थियो । त्यस्तै हंगेरी आफ्नो पहिलो खेलमा युरो कपको साविक विजेता पोर्चुगलसँग ३-० ले पराजित भएको थियो ।

त्यस्तै आज हुने दोस्रो खेलमा जर्मनी र पोर्चुगल आमनेसामने हुनेछन्। जर्मनीको एलिनाज एरेनामा हुने खेलमा यी दुई हेबि वेट टिम भिड्नेछन् । आफ्नो पहिलो खेलमा फ्रान्ससँग पराजय ब्यहोरेको जर्मनी जितको लागि दवाबमा हुनेछ भने हंगरीविरुद्ध ३ अंक जोडेको पोर्चुगल पनि जित निकाल्दै अन्तिम १६ मा स्थान बनाउन चाहनेछ। शीर्ष तहमा पोर्चुगलले जर्मनीमाथि पछिल्लो पटक सन् २००० को युरो कपमा हराएको थियो । खेल राती पौने १० बजे सुरु हुनेछ ।

त्यस्तै राति हुने तेस्रो खेलमा स्पेन र पोल्याण्ड भिड्नेछन् । दुबै टोली आफ्नो पहिलो जितको खोजीमा हुनेछन् । समूह ई को आफ्नो पहिलो खेलमा स्वीडेनमाथि दवाब बनाएर पनि गोल गर्न नसक्दा बराबरीमा रोकिएको स्पेन पोल्याण्डविरुद्ध जितको खोजीमा हुनेछ । त्यस्तै स्लोभाकियासँग पराजित हुँदै प्रतियोगितामा खराब सुरुवात गरेको पोल्याण्ड पनि पहिलो जितको खोजीमा हुनेछ । खेल राति पौने १ बजे सुरु हुनेछ।

प्रकाशित मिति: शनिबार, असार ५, २०७८  १३:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update