Kakhara सबैको खबर सम्पूर्ण खबर
भैंसी प्रबर्द्वन कार्यक्रम अन्तर्गत त्रिवेणिमा भैंसी वितरण

रुकुम पश्चिमको त्रिवेणि गाउँपालिकाको एक वडामा भैंसी प्रर्बद्धन कार्यक्रम सुरु भएको छ । ८ नम्बर वडामा भैंसी प्रबद्र्धन कार्यक्रम लागु भएको हो । त्रिवेणि गाउँपालिका, जिल्ला स्थित पशु सेवा कार्यालय तथा पशु सेवा अस्पताल र किसानको लागत साझेदारीमा भैंसी प्रबद्र्धन कार्यक्रम सुरु भएको छ । कार्यक्रम अन्तर्गत २० जना किसानलाई एक/एक वटा भैंसी दिईएको छ ।

पशु सेवा कार्यालय तथा पशु सेवा अस्पतालको २० लाख, २० जना किसानको एकमुष्ट ७ लाख गरी २७ लाखको लगानीमा उक्त कार्यक्रम सुरु भएको त्रिवेणि गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रमेश पुनले जानकारी दिनुभयो । २० वटा मुर्रा जातका भैंसी खरिद गरी किसानलाई प्रदान गरिएको अधिकृत पुनले बताउनुभयो ।

यसमा गाउँ कार्यपालिकाले निर्णय गरेको तथा समन्वय काम गरेको थियो भने २० जना किसानले प्रतिव्यक्ति ३५ हजार रुपैयाँ लगानी गरेको पुनले बताउनुभयो । भारतको नानपाराबाट भैंसी ल्याएको थियो । दुध उत्पादन वृद्धि गर्ने लक्ष सहित भैंसी वितरण गरिएको पशु सेवा कार्यालय तथा पशु सेवा अस्पतालका निमित्त प्रमुख ज्ञानुकुमार शर्माले बताउनुभयो ।

किसानले ५ वर्ष सम्म भैंसी पाल्ने र त्यसबाट आयआर्जन बढाउनुपर्ने शर्त छ । भारतकै भैंसी भएपनि मुर्रा जातको भैंसी यहाँको हावापानीका लागि उपयुक्त हुने कार्यालय प्रमुख शर्माले बताउनुभयो । दुध पनि बढी दिने भएकाले आयआर्जनमा टेवा पुग्ने विश्वासका साथ प्रति किसानलाई भैंसी प्रदान गरिएको शर्माले बताउनुभयो ।

प्रकाशित मिति: आइतबार, असार ६, २०७८  ०७:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update