रुकुम पूर्वको भूमे युवा विकास केन्द्रले हरेक वर्ष आयोजना गर्दै आएको ‘गुरिल्ला ट्रेल’ म्याराथन यो वर्ष पनि हुने भएको छ । गाउँपालिकाको सहयोगमा म्याराथनको तेस्रो संस्करण असार २२ गते भूमे गाउँपालिकामा हुने भएको हो । ५२ किलोमिटर दुरीमा महिला, पुरुष म्याराथान संचालन हुने आयोजक भूमे युवा विकास केन्द्रका संयोजक सुनिल रोकामगरले जानकारी दिनुभयो ।
म्याराथन मार्फत जिल्लामा युद्ध पर्यनटको विकास गर्न भन्दै केन्द्रले गाउँपालिकाको सहयोगमा ३ वर्षदेखि तत्कालिन माओवादी ‘गुरिल्ला’हरुले प्रयोग गरेको बाटोमा म्याराथन संचालन गर्दै आएको छ । म्याराथन भूमे गाउँपालिका वडा नं. ६ महत गाउँबाट सुरु भएर भूमे ७ लावाङ, हुलबाङ हुँदै रोल्पाको गलचोल, जलजला, थवाङ हुँदै भूमेको मारिङ, सानोलेखबाट पुनः महतमा पुगेर सम्पन्न हुने केन्द्रका संयोजक रोकामगरले बताउनुभयो ।
म्याराथनमा राष्ट्रिय तथा अन्तराष्ट्रिय धावकहरुले समेत सहभागिता जनाउने उहाँको भनाई छ । स्वास्थ्य सुरक्षाका मापण्डहरुको पालना गरेर म्याराथन संचालन हुने उहाँले बताउनुभयो । म्याराथनको महिला, पुरुष दुवै तर्फ विजेताले नगद ७५ हजार, उप विजेताले नगद ५० हजार तथा तृतिय हुनले नगद ३० हजार र शान्त्वना हुनेले नगद १५ हजार पुरस्कार पाउने बताईएको छ । म्याराथनमा भाग लिने सबै धावकको वीमा गरिने आयोजकको दाबी छ ।