कोरोना भाईरसका संक्रमित फेला परेपछि मुसीकोट नगरपालिका–१, सल्ले क्षेत्रमा जारी निषेधाज्ञा आजबाट हटेको छ । स्थानीय २ जनामा कोरोना संक्रमण देखिएपछि सल्लेलाई ४ किल्ला तोकि मंसिर ४ गते सिल गरिएको थियो । त्यसपछि मंसिर ९ गते सल्लेका ८ जना स्थानीय सहित १६ जनामा संक्रमण पुष्टि भएपछि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले सिल जारी राख्ने निर्णय गरेको थियो । उक्त सिल आज बिहान १० बजेदेखि लागु हुने गरी खोलिएको प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रेले जानकारी दिनुभयो ।
त्यस्तै मुसीकोट १ का सबै र ५ का बजार क्षेत्रका बिद्यालयहरु पनि खुल्ने भएका छन् । अव नगरपालिकाले बिद्यालय खोल्न सक्ने सूचनामा उल्लेख छ । जिल्ला अस्पतालको सेवा पनि संचालन गर्न सूचनामा भनिएको छ । बजार व्यवस्थापन र यातायातका साधन पनि अव पूर्ववत व्यवस्था अनुसार संचालन हुने भएका छन् । कोरोना थप फैलिन सक्ने भन्दै जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिले बिहान ६ बजेदेखि दिउँशो ३ बजेसम्म मात्र बजार खुल्न दिने र सल्ले र खलंगाबाट छुट्ने सार्वजनिक यातायातका साधन मुसीकोट ४ शितलपोखरीबाट छुटाउने र बाहिरबाट आउँने गाडि पनि शितलपोखरीसम्म मात्र आउन दिने निर्णय गरेको थियो ।
यस्तो व्यवस्थाले नागरिकहरुले सास्ति पाएको भन्दै यसको चर्को आलोचना भएको थियो । यसैविच बढि जनसम्पर्क हुने सरकारी कार्यालयबाट प्रवाह हुने सेवाको हकमा भने अर्को व्यवस्था नभएसम्मका लागि अहिलेकै व्यवस्था कार्यान्वयन हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय लगायतका सरकारी कार्यालयहरुले सेवाप्रवाहको नियमित ढाँचा परिवर्तन गर्दै वार अनुसार सेवा प्रवाह गरिरहेका छन् ।