Kakhara सबैको खबर सम्पूर्ण खबर
साँख खोलामा निर्माणाधिन माेटरेवल पुल बाढीले भत्कायो (भिडिओ सहित)

राप्ती राजमार्ग अन्तरगत रुकुम पश्चिमको मुसीकोट नगरपालिकाको साँख खोलामा निर्माणाधिन पुल बाढीले भत्काएको छ । वडा नं. ४ को सोलावाङ र वडा नं. १२ को बैरागिठाँटीलाई जोड्ने पक्कि मोटरेवल पुल साँख खोलामा आएको बाढीले आज बिहान करिब साढे ३ बजेतिर भत्काएको हो । ३५ मिटर लम्बाईको पुल निर्माणको काम अन्तिम चरणमा पुगेका थियो । सेटिङको सबै काम सकिएर आरसिसी ढलान भइरहेको अवस्थामा पुल भत्किएको हो । यो आरसिसी प्रिस्टेज ब्रिज हो । बिम र स्ल्याब कामै नलाग्ने गरी भत्किएको छ ।

बिम र स्ल्याबको काम अव फेरि सुरुबाट गर्नुपर्ने पुल निर्माण कम्पनीका कन्ट्राक्ट म्यानेजर हिरा लामाले बताउनुभयो । यो पुल निर्माणको काम सूर्य इलाईट जेभिले गरिरहेको छ । पुल भत्किदा करिब ५ करोडको क्षति भएको लामाले बताउनुभयो । काम अन्तिम चरणमा पुगेका बेला पुल भत्किएको उहाँको भनाई छ । उहाँका अनुसार पुलमा गाडि हिड्ने बनाउनका लागि करिब १०–१५ प्रतिशत काम मात्र बाँकी थियो । असार मसान्तसम्म काम सक्ने गरी काम भइरहेको थियो । यो थप गरिएको समय हो । पुल निर्माण गत वर्षको साउनमै सम्पन्न भइसक्नुपर्ने थियो ।

तर कोरोनाका कारण समयमा काम सम्पन्न हुन नसकेको भन्दै यो असारसम्मको म्याद थप भएको थियो । तर बाढिले पुल भत्काएपछि थपिएको समयमा काम नसकिने भएको छ । विश्व बैंकको साढे ९ करोड सहयोगमा साँख खोला र सल्यानको पटारेमा पुल निर्माणको ठेक्का लागेको थियो । सल्यानको पटारेमा गत वर्ष नै पुल निर्माण सम्पन्न भइसकेको थियो । साँख खोलामा भने पुल निर्माण अझै लम्बिने भएको छ । यो पुल निर्माणको काम लम्बिदा साँख खोलामै रहेको जिर्ण बेलिब्रिजबाट जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता कायमै रहने भएको छ ।  


प्रकाशित मिति: सोमबार, असार ७, २०७८  ०८:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update