Kakhara सबैको खबर सम्पूर्ण खबर
पाँच पालिकामा २ सय भैंसी, ६ सय बाख्रा र १२ बोका वितरण
एक पालिका, एक उत्पादन कार्यक्रम अन्तर्गत त्रिवेणि गाउँपालिकामा वितरण गरिएका भैंसी ।

रुकुम पश्चिमका विभिन्न पाँच पालिकामा पशुवस्तु प्रदान गरिएको छ । किसानको समेत लगानीमा प्रदेश सरकारले उत्पादनका लागि भैंसी तथा बाख्रा प्रदान गरिरहेको छ । चालु आर्थिक वर्षमा जिल्लामा मुसीकोट नगरपालिका, आठबीसकोट नगरपालिका, बाँफिकोट गाउँपालिका, सानीभेरी गाउँपालिका र त्रिवेणि गाउँपालिकामा भैंसी र बाख्रा वितरणको कार्यक्रम भइरहेको छ ।

जिल्ला स्थित पशु सेवा अस्पताल तथा पशु सेवा कार्यालयले सम्बन्धित स्थानीय तहको समन्वय र किसानको पनि लागत सहभागितामा भैंसी तथा बाख्रा वितरण गरिरहेको हो । कार्यालयका अनुसार चालु आर्थिक वर्षमा जिल्लामा ५० पाडापाडी सहित २ सय भैंसी, ६ सय बाख्रा र १२ बोका वितरण गर्ने कार्यक्रम थियो । जसमध्य अधिकांश वितरण भइसकेका छन् भने केही वितरणको क्रममा रहेको पशु सेवा अस्पताल तथा पशु सेवा कार्यालयका निमित्त प्रमुख ज्ञानुकुमार शर्माले जानकारी दिनुभयो ।

प्रमुख शर्माका अनुसार प्रदेश सरकारको एक पालिका, एक उत्पादन कार्यक्रम अनुसार नै पशु वस्तु वितरणको कार्यक्रम तय गरिएको थियो । सम्बन्धित पालिकाको समन्वय, निर्णय र किसानको रोजाइ तथा लागत सहभागितामा यो कार्यक्रम लागु भइरहेको छ । 

पशु सेवा अस्पताल तथा पशु सेवा कार्यालयका अनुसार मुसीकोट नगरपालिकामा ९५, सानीभेरी गाउँपालिकामा ५० पाडापडी सहित ७५  त्रिवेणि गाउँपालिकामा ३० वटा भैंसी प्रदान गरिने छ । यसमा केही बाहेक अधिकांश भैंसी वितरण गरिसकिएको छ ।  आठबीसकोट नगरपालिकामा २ सय बाख्रा, ४ बोका, बाँफिकोट गाउँपालिकामा २ सय बाख्रा, ४ बोका र सानीभेरीमा २ सय बाख्रा र ४ बोका वितिरण गरिएको कार्यालय प्रमुख शर्माले जानकारी दिनुभयो ।

भैंसी र बाख्रा व्यक्तिगत रुपमा प्रदान गरिएको छ । किसानले पनि यसमा व्यक्तिगत रुपमै लागत सहभागिता जनाएका छन् । दुध र दुधजन्य वस्तु उत्पादन तथा मासुका लागि एक पालिका, एक कार्यक्रम ल्याइएको जनाइएको छ । भैंसी तथा बाख्रा पालन गर्नेहरुको समूह बनाइएको छ । समूह बनाइएपनि व्यवसाय भने व्यक्तिगत रुपमा सञ्चालन गर्ने प्रमुख शर्माले बताउनुभयो । 
 

प्रकाशित मिति: सोमबार, असार ७, २०७८  १३:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update