रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ३, को ज्यामिरे गाउँमा खानेपानी पुगेको छ । लामो समयदेखि खानेपानीको अभाव झेल्दै आएका त्यस क्षेत्रका नागरिकका लागि चालु आर्थिक वर्षमा खानेपानी योजना निर्माण सम्पन्न भएको हो । कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयको दश लाख बजेटमा सेजे–ज्यामिरे खानेपानी योजना निर्माण सम्पन्न भएको हो ।
निर्माण समितिका अध्यक्ष मोहविर विष्टले झण्डै ६० घरलाई खानेपानीको आपूर्ति सहज भएको जानकारी दिनुभयो । बाँफिकोट गाउँपालिका १०, को सेजेबाट खानेपानी ल्याइएको उहाँले बताउनुभयो । यस अघि ज्यामिरेका नागरिकले अँधेरेखोलाका पानी प्रयोग गर्दै आएका थिए । वर्षामा खानेपानी पर्याप्त पुग्ने भएपनि हिउँदको समयमा भने खानेपानीको ठूलै समस्या हुन्थ्यो ।
मुहान घट्दै जाने कारणले पानी भर्नका लागि ज्यामिरेबासी लाइन नै बस्नुपर्ने बाध्यता अब हटेको वडाध्यक्ष विर्खबहादुर विष्टले बताउनुभयो । ज्यामिरेमा आधारभुत आवश्यक्ताका रुपमा रहेको खानेपानी पुर्याएपछि स्थानीय पनि खुसी भएको वडाध्यक्ष विष्टले बताउनुभयो । बाँफिकोट गाउँपालिका १०, को सेजे र सानीभेरी गाउँपालिका ३, को ज्यामिरेका स्थानीयबीचमा भएको सल्लाह अनुसार खानेपानी योजना परेको र निर्माण सम्पन्न पनि भएको वडाध्यक्ष विष्टले बताउनुभयो ।