Kakhara सबैको खबर सम्पूर्ण खबर
बाल क्लव सञ्जालले तय गर्यो आगामी वर्षको कार्य योजना
कार्य योजना निर्माणपछि बाल सञ्जालका पदाधिकारी तथा सदस्यहरु ।

गाउँ बाल क्लव सञ्जाल समिति बाँफिकोट गाउँपालिका रुकुम पश्चिमले गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९  का लागि बालबालिकाको क्षत्रमा हुने योजना निर्माण गरेको छ । बालबालिकाको हक अधिकार सुनिश्चित गर्न, गाउँ पालिकालाई बालमैत्री बनाउन, बालबालिकाको सामाजिक तथा क्षमता विकासका लागि विभिन्न योजना छनौट गरिएको हो । यी नै कुरालाई आधार मानेर योजना निर्माण गरिएको अध्यक्ष घनश्याम विश्वकर्माले जानकारी दिनुभयो ।

बालबालिका लक्षित गरेर गाउँपालिकाले विनियोजन गर्ने बजेट बालबालिकाको सामाजिक तथा क्षमता विकासका लागि खर्चने गरिन्छ । चालु आर्थिक वर्षमा पनि गाउँपालिकाले ५ लाख बजेट विनियोजन गरेको थियो । उक्त बजेटमध्य ८० प्रतिशत बढी बजेट विभिन्न कार्यक्रम खर्च भएको अध्यक्ष विश्वकर्माले बताउनुभयो । 

आगामी वर्षको बजेटमा बाल क्लब परिचालन गर्न, बालबालिकाको हक अधिकार सुनिश्चित गर्न, गाउँपालिकालाई बाल मैत्री बनाउन,बाल क्लबको गठन, ब्यबस्थापन,सहजीकरण तथा ब्यबस्थापन गर्न लगायतको शीर्षकमा रहेर बजेट विनियोजनको माग गर्ने गरी सञ्जालले कार्य योजना बनाएको अध्यक्ष विश्वकर्माले जानकारी दिनुभयो ।

यसको साथै  बालबालिकाहरुको लागि अतिरिक्त क्रियाकलाप सञ्चालन, बाल विवाह न्यूनिकरण सम्बन्धी विभिन्न सचेतनामूलक अभियान, बाल बिबाह विरुद्ध का विभिन्न सचेतना मुलक कार्यक्रमहरु सञ्चालन तथा क्षमता विकासका काम गर्ने गरी योजना बनाइएको छ । कार्य योजनामा अनुमानित बजेट समेत तोकिएकाले अनुमोदनका लागि गाउँपालिकालाई अनुरोध गरिएको छ । 

यसैबीच सञ्जालले किरण विकलाई सल्लाहकारमा मनोनयन गरेको छ । निवर्तमाण अध्यक्ष विकलाई सञ्जालको बैठकले सल्लाहकारमा मनोनयन गरेको हो । गत कार्यकालमा बालबालिकाको क्षेत्रमा महत्वपूर्ण योगदान गरेको भन्दै विकलाई सञ्जालले सम्मान समेत गरेको छ । 
 

प्रकाशित मिति: सोमबार, असार ७, २०७८  १६:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update