सिन्धुपाल्चोक जिल्लाको मेलम्चीमा आएको बाढीका कारण समस्यामा परेकालाई रुकुम पूर्व र रुकुम पश्चिमबाट पनि सहयोग भएको छ । नेकपा माओवादी केन्द्र निकट युवा संगठन वाइसीएलको रुकुम पूर्व र रुकुम पश्चिम जिल्ला संगठन समितिले छुट्टाछुट्टै सहयोग रकम पठाएका हुन् ।
वाइसीएलको केन्द्रीय समिति मार्फत बाढी पीडितलाई आवश्यक सामग्री सहयोगका लागि नगद रकम पठाइएको वाइसीएल रुकुम पूर्वका संयोजक तिलक रेउले भाष्करले जानकारी दिनुभयो । उहाँका अनुसार वाइसीएलकै सदस्यहरुबाट संकलन गरिएको २६ हजार रुपैयाँ मेलम्चीको बाढी पीडितको सहयोगका लागि पठाइएको हो । दुःखमा परेकालाई सानो भएपनि सहयोग होस् भनेर हिमाली जिल्लाबाट उक्त रकम पठाइएको भाष्करले बताउनुभयो ।
रुकुम पश्चिम जिल्ला संगठन समितिले पनि नगद रकम पठाएको छ । वाइसीएलका केन्द्रीय सदस्य तथा इन्चार्ज शैलेश शर्माले जिल्ला संगठन समिति रुकुम पश्चिमको तर्फबाट २५ हजार रुपैयाँ पठाइएको जानकारी दिनुभयो । संगठनको केन्द्रीय समिति नै राहत, उद्दार तथा व्यवस्थापनमा खटिएकाले त्यसै मार्फत खर्च गर्नेगरी नगद पठाइएको इन्चार्ज शर्माले बताउनुभयो ।