Kakhara सबैको खबर सम्पूर्ण खबर
कोरोना भाइरसको तेस्रो भेरियन्टबाट जोगिन पूर्व तयारी लाग्नुपर्नेमा नेता पुनको जोड
नेता पुन ।

नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व मन्त्री गणेशमान पुनले कोरोना भाइरसको तेस्रो भेरियन्टबाट जोगिन सम्पूर्ण तयारी गर्नुपर्ने बताउनुभएको छ । पहिलो र दोस्रो भेरियन्टबाट पाठ सिकेर तेस्रो भेरियन्टबाट जोगिने उपायका लागि व्यक्ति, समूह, संस्था र सरकारहरु लाग्नुपर्नेमा जोड दिनुभयो । रुकुम पूर्वमा भएको सर्वदलिय बैठकमा बोल्दै नेता पुनले पर्याप्त बेड, चिकित्सक तथा स्वास्थ्यकर्मीको व्यवस्थामा ध्यान पुर्याउनुपर्नेमा जोड दिनुभयो । विज्ञका अनुसार तेस्रो भेरियन्ट बालबालिकामा बढि हुने अनुमान गरिएकाले त्यसमा ध्यान लाउनुपर्ने नेता पुनले बताउनुभयो ।

त्यस अगावै प्रतिरोधी क्षमता भएका खानेकुरामा जोड दिनुपर्ने, खानपिन, शारीरिक तथा मानिसक कसरतमा पनि ध्यान लाउनुपर्ने सुझाव विज्ञका रहेकाले त्यसतर्फ सबै लाग्नुपर्ने नेता पुनको आग्रह छ । पहिलो र दोस्रो भेरियन्टबाट संक्रमित भई निको भइसकेकाको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुपर्ने र सकेसम्म स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । महामारी न्यूनिकरणका लागि सबैको भूमिका हुने र भूमिकालाई प्रभावकारी बनाउन सहकार्य, समन्वयलाई प्राथमिकता दिन स्थानीय सरकार, प्रशासन तथा जिल्ला स्थित राजनीतक दल तथा अरु सरोकारवालालाई आग्रह समेत गर्नुभएको छ । 

उपचारमा लाग्ने जिल्ला अस्पताल, पालिकाका आइसोलेसन, स्वास्थ्य चौकी, आधारभुत स्वास्थय सेवा केन्द्रमा शासकीय सुधार गर्नुपर्ने र जतिखेर पनि महामारी आउन सक्छ भनेर तम्तयार भएर बस्नुपर्ने नेता पुनले बताउनुभयो । दोस्रो भेरियन्टको कारण मृत्यु भएकाप्रति श्रदाण्जली, परिवारजनप्रति समवेदना प्रकट गर्दै उहाँले कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा खट्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्नुभएको छ । 
 

प्रकाशित मिति: मंगलबार, असार ८, २०७८  १७:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update