रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाका अनाथ टुहुरा बालवालिकाहरुले मासिक २ हजार भत्ता पाउने भएका छन् । गाउँपालिकाले आगामि आर्थिक वर्ष २०७८/०७९ को नीति, कार्यक्रम र बजेटमा अनाथ टहुरा बालबालिकाका लागि बिशेष सामाजिक सुरक्षा भत्ताको व्यवस्था गरेको छ ।
जसअनुसार गाउँपालिकामा रहेका अनाथ र टहुरा बालबालिकाको पहिचान गरी उनिहरुलाई मासिक २ हजार भत्ता दिने नीति, कार्यक्रम र बजेट गाउँपालिकाले बनाएको छ । यसका साथै संरक्षण विहिन, बालबालिकाहरुलाई बार्षिक रुपमा ५ हजार शैक्षिक सहायता पनि प्रदान गरिने भएको छ ।
त्यस्तै जटिल रोगहरुबाट ग्रसित बालबालिकाहरुको उपचारमा सहयोग गर्ने, हाल कोभिड–१९ का कारण खाद्यान्न संकटमा रहेका बालबालिकाहरुलाई सहयोग गर्ने, बिद्यालयमा बालमैत्री अध्यापनको व्यवस्था मिलाउने, बालविवाह विरुद्ध अभियान चलाउने र सिमान्तकृत बालबालिकाहरुका लागि विशेष कार्यक्रमको व्यवस्था नीति, कार्यक्रम र बजेटमा गरिएको छ ।
गाउँपालिकाले स्थानीय शासन प्रवद्र्धन र घोषणा प्रक्रिया नीति रही आएको र सोही अनुसार बालबालिकाको अधिकार प्राप्ती र उनिहरुको समग्र हितका लागि गाउँपालिका गम्भिर रहेको गाउँसभामा पेश गरिएको नीति कार्यक्रममा उल्लेख छ । गाउँपालिकाले बाल संरक्षण र बालमैत्री स्थानीय शासनका लागि २१ लाख १० हजार बजेट विनियोजन गरेको छ ।