रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले आगामि आर्थिक वर्ष २०७८/०७९ का लागि नीति, कार्यक्रम र बजेट मंगलबार गाउँसभामा पेश गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षका प्रभावकारी कार्यक्रमलाई निरन्तरता दिदै नयाँ कार्यक्रमलाई समेटेर नीति, कार्यक्रम बनाएको छ । गाउँपालिकाले वर्षभरीमा उत्कृष्ट काम गर्ने स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाहरुलाई पुरस्कृत गर्ने भएको छ ।
स्वास्थ्यकर्मीहरुको मनोबल बढाउनका लागि चालु आर्थिक वर्षमै कार्यान्वयनमा रहेको यो कार्यक्रमलाई आगामि आर्थिक वर्षमा पनि निरन्तरता दिने नीति, कार्यक्रम र बजेटमा उल्लेख छ । त्यस्तै महिला स्वास्थ्य स्वयसेविकाहरुलाई प्रोत्साहन तथा यातायात खर्चको व्यवस्थालाई पनि गाउँपालिकाले नीति कार्यक्रम र बजेटमा समावेश गरेको छ ।
यि कार्यक्रमलाई स्वास्थ्य क्षेत्रका आधारभुत कृयाकलाप शिर्षकमा समेट्दै यो शिर्षकमा गाउँपालिकाले ६३ लाख ३० हजार बजेट विनियोजन गरेको छ । यो रकम गाउँपालिकामा कोरोना भाईरस रोकथाम र नियन्त्रण देखि औषधि खरिद सम्मका विभिन्न कामहरुमा खर्च हुने उल्लेख गरिएको छ । गाउँपालिकाले समग्र स्वास्थ्य क्षेत्रमा भने ३ करोड ९९ लाख ४२ हजार बजेट विनियोजन गरेको छ ।