रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले गाउँ खेलकुद विकास समितिका लागि कर्मचारीको व्यवस्था गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि प्रस्तावित नीति, कार्यक्रम र बजेटमा गाउँपालिका खेलकुद विकास समितिका लागि एक जना कर्मचारीको व्यवस्था गर्ने उल्लेख छ । यसका लागि बजेटको व्यवस्था पनि गरिएको छ । त्यस्तै गाउँ खेलकुद विकास समितिको कार्यालय कार्यालय व्यवस्थापनका लागि समेत गाउँपालिकाले बजेटको व्यवस्था गरेको छ ।
युवा तथा खेलकुद विकासका लागि गाउँपालिकाले ५० लाख ७५ हजार बजेट विनियोजन गरेको छ । यो बजेटबाट युवा उद्यमशिलताका कार्यक्रमहरु मार्फत रोजगारी सृजना र युवा तथा बालबालिकाहरुलाई शारिरीक तथा मानसिक रुपमा तन्दुरुस्त राख्ने कार्यक्रमहरु संचालन हुने उल्लेख छ । बेल्टापुमा गाउँपालिका स्तरको रंगशाला, एक वडा एक खेल मैदान र एक विद्यालय एक खेल मैदान निर्माण गर्ने गाउँपालिकाको दीर्घकालिन योजनालाई क्रमशः पुरा गर्दै लैजाने गाउँपालिका उपाध्यक्ष इन्दीरा ओलीले गाउँ सभामा पेश गरेको नीति, कार्यक्रम र बजेटमा भनिएको छ ।