Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा अव निषेधाज्ञा केहि खुकुलो हुने (के खुल्छन, के अझै बन्द रहन्छन् ? 

रुकुम पश्चिममा पुनः निषेधाज्ञा थप भएको छ । जिल्ला प्रशासन कार्यालयले आज सूचना निकालेर असार १७ गतेसम्म निषेधाज्ञा जारी रहने जनाएको छ । पछिल्लो पटक जेठ ३१ गते थप गरिएको निषेधाज्ञाको समय भोली असार १० गते राति १२ बजे सकिन लागेकामा आज प्रशासनले अझै १ साता निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो । रुकुम पश्चिममा ५३ दिनदेखि निषेधाज्ञा जारी छ । पहिलो पटक बैशाख १९ गतेबाट सुरु भएको निषेधाज्ञा आज सहित छैटौं पटक थप भइसकेको छ । 

अव भने निषेधाज्ञालाई केहि खुकुलो पारिएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)का अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिनुभयो । अव सुनचाँदी पसल, भाँडा पसल, फेन्सी पसल, कपडा पसल, कस्मेटिक पसल, छापाखाना, स्टेशनरी पसल, मोबाइल पसल, इलेक्ट्रोनिक्स पसल, फोटोकपि पसल, फोटो स्टुडियो लगायतका पसल खुला हुने उहाँले बताउनुभयो । तर दिनभरी नभइ बिहान ११ बजेदेखि दिउँशो ३ बजेसम्म मात्र यि पसलहरु संचालन हुन पाउने उहाँको भनाई छ । 

दैनिक आवश्यक खाद्यान्न तथा तरकारी पसलहरु भने यसअघि जस्तै बिहान ६ बजेदेखि १० बजेसम्म संचालन हुन पाउने प्रमुख जिल्ला अधिकारी गैह्रेले बताउनुभयो । त्यस्तै यसअघि जस्तै दिउँशो ३ बजे देखि बुलकी ७ बजेसम्म विकास निर्माणजन्य सामग्री पाईने हार्डववेर लगायतका पसलहरु पनि संचालनमा रहने छन् । चिया, खाजा पसल, होटेल, रेष्टुरेन्ट, व्यटीपार्लर, सैलुन भने अझैपनि खुल्न नपाउने प्रमुख जिल्ला अधिकारी गैह्रेले जानकारी दिनुभयो । 

सवारी साधन पनि खुल्ने छैनन् । अत्यावश्यक सेवा बाहेक अन्य सेवा यसअघि जस्तै ठप्प रहने प्रशासनले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।    

प्रकाशित मिति: बुधबार, असार ९, २०७८  १४:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update