Kakhara सबैको खबर सम्पूर्ण खबर
संघीयताले नागरिकलाई सरकार नजिक बनाएको महशुस हुँदै छः पूर्व मन्त्री केसी
रुकुम पश्चिमको त्रिवेणि गाउँपालिका ६, स्थित अदुवा

कर्णाली प्रदेशको पूर्व मन्त्री विमला केसीले संघीयताले नागरिकलाई नजिकको महशुस गराउँदै लिएको बताउनुभएको छ । जनयुद्ध, जनआन्दोलनको बलमा स्थापित गणतन्त्रपछि देश संघीयतामा गएको र संघीयताले विकास निर्माण नजिकबाट दिन थालेको बताउनुभयो । प्रदेश सरकारको पूर्वाधार क्षेत्र विशेष कार्यक्रम अन्तर्गतका योजना अनुगमनको क्रममा उहाँले संघ, प्रदेश हुँदै स्थानीय तह पनि विकासमा लागेकाले नागरिकले त्यसको महशुस गर्दै गएको बताउनुभयो ।

‘जनताका आवश्यक्ता थुप्रै छन्, यी आवश्यक्ता तीन सरकारबाट पूरा भइरहेका पनि छन्,’ उहाँले भन्नुभयो, ‘सबभन्दा नजिक स्थानीय, त्यसपछि प्रदेश र त्यसपछि संघ सरकार रहेका छन्, यी नै सरकारबाट सम्पादन भइरहेका कामबाट जनताले संघीयताको महशुस गरिरहेका छन् ।’ प्रदेश सरकारबाट विभिन्न आर्थिक वर्षमा रुकुम पश्चिममा आएको बजेटबाट विकास निर्माण, आयआर्जनमा सहयोग पुगेको पूर्व मन्त्री केसीले बताउनुभयो ।

जनताका आवश्यक्ता परिपूर्तिका लागि प्रदेश सरकारले पूर्वाधार क्षेत्र विशेष कार्यक्रम गरेको र सोही शीर्षकबाट चालु आर्थिक वर्षमा विभिन्न योजना सम्पन्न भएको उहाँले जानकारी दिनुभयो । चालु आर्थिक वर्ष २०७७/०७८ मा जिल्लामा ४० वटा योजना यही शीर्षकको बजेटबाट सम्पन्न भएका छन् भने यसमा १० करोड बजेट खर्च भएको छ ।

उद्योग स्थापना, खानेपानी, सिचाई, सडक, आय आर्जन लगायतका पूर्वाधार निर्माणमा यो बजेट खर्च भएको छ । दुई प्रदेश सभा निर्वाचन क्षेत्रमा ५/५ करोडका दरले बजेट खर्च भएको र योजना निर्माण भएको पूर्वाधार विकास कार्यालयका प्रमुख पदमप्रसाद देवकोटाले जानकारी दिनुभयो । जिल्लाका सबै पालिकामा यो बजेट कार्यान्वन भएको र विभिन्न पूर्वाधारका योजना निर्माण सम्पन्न भएको देवकोटाले बताउनुभयो । 
 

प्रकाशित मिति: बुधबार, असार ९, २०७८  १९:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update