Kakhara सबैको खबर सम्पूर्ण खबर
यस्ता आए भूमे गाउँपालिकाका नीति तथा कार्यक्रमहरु (पूर्णपाठ सहित)

रुकुम पूर्वको भूमे गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको छ । अध्यक्ष रामसुर बुढा मगरले बुधबार गाउँ सभामा आर्थिक वर्ष २०७८/०७९ का लागि नीति तथा कार्यक्रम पेश गर्नु भएको हो । गाउँ सभामा पेश भएको नीति तथा कार्यक्रममा कोरोना महामारीको रोकथाम, नियन्त्रण तथा उपचार लगायत विभिन्न कार्यक्रमलाई प्राथमिकता प्रमुख दिइएको छ । कोभिड–१९ बाट पालिकालाई सुरक्षित राख्न विशेष सजगता अपनाई कोभिड अस्थायी अस्पतालको सुदृढीकरण, औषधी, उपकरण, द्रुत टिम, स्वास्थ्यकर्मीको पर्याप्त व्यवस्था तथा परिचालन गरी आम गाउँपालिकाबासीको स्वास्थ्य सुरक्षामा विशेष जोड दिइने नीति, तथा कार्यक्रम उल्लेख छ ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर कायम गर्न विद्यालय तथा शिक्षक लक्षित दण्ड र पुरस्कारको नीति अवलम्बन गर्ने गरी भूमे गाउँपालिकाको शैक्षिक क्षेत्र विकास सोँचपत्र प्रभावकारी कार्यान्वयन गर्ने गरी नीति, तथा कार्यक्रम उल्लेख छ । अध्यक्ष बुढाले पेश गरेको नीति तथा कार्यक्रममा विद्यालयको प्रशासकीय र व्यवस्थापकीय सुधारका लागि नियमित अनुगमन तथा मूल्याङ्कन पद्धतिको विकास गरी विद्यालय शिक्षा सुधार परियोजनालाई व्यवस्थित गरी कडाइका साथ कार्यान्वयन गरिनेछ ।

शैक्षिक गुणस्तरमा उल्लेख्य योगदान गर्ने शिक्षक तथा विद्यालयलाई पुरस्कृत गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । भूमे गाउँपालिकाको प्रमुख आधारको रुपमा रहेको कृषि क्षेत्रको सुधारका लागि कृषिमा विविधिकरण, व्यवसायिकरण, आधुनिकीकरणजस्ता कार्यक्रमलाई निरन्तरता दिइने, अनुदानमा उन्नत बीउ, रैथाने बीउ, तरकारी किट बीऊ, कृषि औजार, यन्त्रतथा प्रविधिहरु उपलब्ध गराइने र नेपाल सरकार तथा प्रदेश सरकारसँगको सहकार्यमाकृषक दर्ता गरी किसान सूचीकरण कार्यक्रम सम्पन्न गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

व्यवसायिक सीप विकास मार्फत पालिकामा पहिचान भएका उद्यमीहरुलाई प्राविधिक सहयोग तथा उद्यम विकास मोडेलमा नयाँ लघु उद्यमी सिर्जना गरिने, नयाँ लघु उद्यमीहरुको आवश्यकता र पहिचानका आधारमा सीप विकास तालिम प्रदान गरी सम्भाव्य उत्पादनका लागि प्रविधि हस्तान्तरण गरिने र अति गरिब परिवारका लागि साझा सुविधा केन्द्र स्थापना गरिने नीति, कार्यक्रममा उल्लेख गरिएको छ ।

नमूना सरसफाइयुक्त गाउँपालिका निर्माण गर्ने प्रतिवद्धता अनुरुप भूमे गाउँपालिकाको खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी कार्ययोजना सघन रुपमा कार्यान्वयन गरिने छ  । सफा र हरियालीः समृद्ध भूमे नारालाई सार्थक तुल्याउन प्लाष्टिकमुक्त टोल, भकारो सुधार, सुधारिएको चुल्हो, एक घर एक धारा, एक घर दश फलफूल विरुवा, एक घर एक शौचालय, भान्छा सरसफाई कार्यक्रमलाई निरन्तरता दिइनेछ । लक्षित वर्गको हकहितको सुनिश्चित गर्दै लैंङ्गिक समता र समानता, सशक्तीकरण, मूलप्रवाहीकरण र अर्थपूर्ण सहभागिता वृद्धि गर्ने नीतिलाई प्रोत्साहन गरिनेछ ।

लघुउद्यम तथा सीप विकास सम्बन्धी कार्यक्रमहरुमा लक्षित वर्ग, क्षेत्र, समुदायको सहभागितालाई पहिलो प्राथमिकतामा राखिने नीति तथा कार्यक्रममा उल्लेख । राष्ट्रिय ग्रामीण तथा नवीकरणीय उर्जा कार्यक्रममार्फत निर्मित तथा निर्माणाधीन लघु तथा साना जलविद्युत आयोजनाहरुलाई मर्मत सम्भार र व्यवस्थित गरिने र  विद्युतको पहुँच नपुगेका घरपरिवारलाई वैकल्पिक उर्जामार्फत सबै घरमा उज्यालो सुविधा पुर्याइने गरी नीति, कार्यक्रम बनाइएको छ ।

सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पेशागत अनुशासनप्रति प्रतिवद्ध, पारदर्शी, भ्रष्टाचारमुक्त, प्रविधियुक्त, जनउत्तरदायी र सहभागितामूलक बनाउँदै लगिने नीति कार्यक्रममा उल्लेख छ भने जनताको नजिकमा सरकारको अनुभूति दिलाउन वडा कार्यालयबाट प्रवाह हुने सेवा प्रवाहलाई चुस्त दुरुस्त र प्रभावकारी बनाइने उल्लेख छ । विहीबार बजेट ल्याउने तयारी गरेको गाउँपालिकाले १ सय २४ बुँदामा नीति तथा कार्यक्रम ल्याएको छ । 

प्रकाशित मिति: बुधबार, असार ९, २०७८  २०:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update