Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिमका तीन स्थानीय तहमा १५ शैय्याका अस्पताल
वडा नं. ७ को छोटेबगरमा अस्पताल भवन शिलान्यास गर्दै सानीभेरी गाउँपालिका अध्यक्ष नरवहादुर पुन ।

रुकुम पश्चिमका तीन स्थानीय तहमा १५ शैय्याका अस्पताल बन्ने भएका छन् । चौरजहारी नगरपालिका, आठबीकोट नगरपालिका र सानीभेरी गाउँपालिका गरी तीन स्थानीय तहमा १५ शैय्याका अस्पताल बन्ने भएका हुन् । यि स्थानीय तहले हाल पनि एमविविएस डाक्टर सहितका स्वास्थ्यकर्मिको व्यवस्था गरेर अस्पताल संचालन गरिरहेका छन् । तर अव भने आवश्यक सबै भौतिक संरचना सहित व्यवस्थित रुपमा अस्पताल संचालन हुने भएका हुन् । आठबीसकोट र सानीभेरीमा आज १५ शैय्याको अस्पताल भवनको शिलान्यास गरिएको छ । तर चौरजहारी नगरपालिकामा भने जग्गा विवादका कारण आज अस्पताल शिलान्यास हुन सकेन् ।

आज सात वटै प्रदेशका तीन सय ९६ वटा स्थानीय तहमा एकैपटक पाँच देखि १५ शैय्या सम्मका अस्पतालको शिलान्यास गरिएको छ । सोही अनुसार जिल्लाका दुई स्थानीय तहमा पनि पालिका अस्पतालको शिलान्यास गरिएको हो । जिल्लामा सबैभन्दा पहिला नगर अस्पताल संचालन गरेको आठबीसकोट नगरपालिकाले हाल नगर अस्पताल रहेकै वडा नं. ९ को राडिमा शिलान्यास गरेको छ । नगर प्रमुख गोर्खवहादुर केसीले एक कार्यक्रमका बिच अस्पतालको शिलान्यास गर्नुभयो । नगरपालिकाले २०७५ असोज ७ गते देखि नै २५ शैय्याको नगर अस्पताल संचालन गरिरहेको छ । जसका लागि नगर अस्पतालको सुविधा सम्पन्न भवन निर्माणाधिन छ । भने सोही निर्माणाधिन भवन नजिकै अर्को सुविधा सम्पन्न अस्पताल भवन बन्दै छ । अव नगरपालिकालाई अस्पताल संचालनका भौतिक संरचनाको अभाव नहुने नगर प्रमुख केसीले बताउनुभयो ।

गत वर्षदेखि १५ शैय्याको पालिका अस्पताल संचालनमा ल्याएको सानीभेरी गाउँपालिकालाई पनि अव सहज हुने भएको छ । वडा नं. ७ छोटेबगरमा रहेको साविकको स्वास्थ्य चौकीबाट अस्पताल संचालन गरिरहेको गाउँपालिकालाई भवनको अभाव थियो । आज १५ शैय्याको अस्पताल भवनको शिलान्यास गरिएपछि भने गाउँपालिकाले राहतको महशुस गरेको छ । अहिले अस्पताल संचालन भइरहेकै छोटेबगरमा अस्पताल संचालन गर्ने गरी गाउँपालिका अध्यक्ष नरवहादुर पुनले भवन शिलान्यास गर्नुभयो । गाउँपालिकाले यसअघि जग्गा प्राप्तिका लागि आह्वान गरेको थियो । तर तोकिएको मापदण्ड अनुसारको जग्गा प्राप्त हुन नसकेपछि छोटेबगरमै अस्पताल शिलान्यास गरिएको गाउँपालिका अध्यक्ष पुनको भनाई छ । गाउँपालिकाले २०७६ को फागुन २ गतेदेखि एमविविएस डाक्तर सहितका स्वास्थ्यकर्मिको व्यवस्था गरी अस्पताल संचालन गरिरहेको छ ।

चौरजहारीमा जग्गा विवाद
चौरजहारी नगरपालिकामा भने जग्गा नटुंगिदा आज शिलान्यास हुन सकेन् । वडा नं. ७ मा रहेको कोटजहारी प्राथमिक स्वास्थ्य केन्द्र संगै र वडा नं. ९ को रातामाटामा जग्गा उपलब्ध भएको छ । तर कुन ठाउँमा अस्पताल बनाउने भनेर सहमति नजुट्दा शिलान्यास पछाडि धकेलिएको हो । दुवै ठाउँका जग्गादाताले आफुहरुले दिएको ठाउँमा अस्पताल बनाउनुपर्ने माग गरिरहेका छन् । जग्गामा सहमति जुटाएर केहि दिनमा अस्पताल शिलान्यास गरिने निमित्ति प्रमुख प्रशासकिय अधिकृत रामवहादुर केसीले जानकारी दिनुभयो ।

चौरजहारीले पनि यसअघि देखि नै नगर अस्पताल संचालन गरिरहेको छ । नगरपालिकाले वडा नं. १० को नेपानेमा कार्तिक १४ गते ५ शैय्याको नगर अस्पताल उद्घाटन गरेको थियो । चौरजहारीले पनि अस्पतालका लागि एमविविएस डाक्टर सहितका स्वास्थ्यकर्मि नियुक्त गरेको छ । अव १५ शैय्याको अस्पताल निर्माण भएपनि वडा नं. १० को ५ शैय्याको अस्पताल पनि संचालन हुने नगरपालिकाले जनाएको छ । नगरपालिकामा दुई वटा सरकारी र एउटा नीजि गरी तीन वटा अस्पताल हुने भएका छन् ।

अस्पतालका लागि नौं रोपनि जग्गा आवश्यक पर्ने भन्दै यसअघि नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जग्गाको व्यवस्था गर्न स्थानीय तहहरुलाई भनेको थियो । सोही अनुसार स्थानीय तहहरुले जग्गाको व्यवस्था गरेका हुन् । अस्पताल निर्माणका लागि जिल्लाका तीन वटै पालिकामा समान १८ करोड बजेट आउँने छ । अहिले १ करोड बजेट आईसकेको र प्रगतिका आधारमा असारभित्रमा थप बजेट पनि प्राप्त हुनसक्ने स्थानीय तहहरुको भनाई छ । बाँकी बजेट अर्को वर्ष प्राप्त हुने छ । दुई वर्ष भित्रमा अस्पताल संचालन गर्ने लक्ष राखिएको छ ।।

प्रकाशित मिति: सोमबार, मंसिर १५, २०७७  १८:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update