रुकुम पूर्वको भूमे गाउँपालिकाले शहिद परिवार, अनाथ, अभिभावकविहिन बालबालिकाहरुलाई आवासीय पठन पाठन गराउने भएको छ । ३ नम्बर वडाको क्याङसीमा रहेको शहिद बासुस्मृति जनवादी विद्यालयको भवनमा आवासीय पठनपाठन गराउने गरी नीति, कार्यक्रम ल्याइएको छ ।
गाउँपालिका अध्यक्ष रामसुर बुढा मगरले गाउँ सभामा पेश गरेको नीति, कार्यक्रममा यो कुरा समेटिएको छ । नीति, कार्यक्रममा शहिद वासु स्मृति नमूना आधारभूत विद्यालयमा दिवा कक्षा अध्ययनका लागि व्यवस्था गरी विगतको जनवादी विद्यालयलाई नयाँ ढङ्गले सञ्चालन तथा संग्रहालयको रुपमा विकास गर्ने उल्लेख छ ।
क्याङसीमा तत्कालिन नेकपा माओवादीले जनवादी विद्यालय सञ्चालन गरेको थियो । त्यहाँको विद्यालयलाई अर्को सरकारी विद्यालयमा गाभिएको थियो । हाल उक्त विद्यालय सरकारी विद्यालयका रुपमा सञ्चालित छ । नीति कार्यक्रममा शिक्षा सम्बन्धिका अरु नीति तथा कार्यक्रम पनि तय गरिएको छ ।
विद्यार्थीहरुलाई बाल्यकालदेखि नै व्यवसायिक सीप विकास कार्यक्रम, विद्यालय उपस्थिति प्रोत्साहन पुरस्कार, उत्कृष्ट शिक्षक, उत्कृष्ट विद्यालय पुरस्कार कार्यक्रम ल्याइने छ । राष्ट्रपनि रनिङ शिल्डमा स्थानीय साझेदारी गरी खेलकूद प्रतियोगिताद्वारा बालबालिकाको शारीरिक तथा संवेगात्मक विकासमा टेवा पुर्याउने नीति, कार्यक्रममा उल्लेख छ ।
नीति तथा कार्यक्रममा स्थानीय स्तरमा उपलब्ध सामाग्रीहरुको अधिकतम उपयोग गरी शिक्षण सिकाई सामाग्री निर्माण तथा क्षमता विकास सम्बन्धी कार्यशाला सञ्चालन गरिनेछ । स्थानीय पाठ्यक्रमलाई आगामी आर्थिक वर्षको शैक्षिक सत्रदेखि क्रमशः कार्यान्वयन गर्दै लिने गरी नीति तथा कार्यक्रम पेश गरिएको छ ।
गुणस्तरीय विद्यालय, शिक्षक तथा सिकाइ केन्द्रहरुलाई प्रोत्साहन र पुरस्कारको व्यवस्था गरिएको छ । साथै गुणस्तरहीन संस्थाले निश्चित समयभित्र सुधार गर्न नसक्ने र न्यूनतम विद्यालय संख्या नहुने विद्यालयलाई कक्षा घटुवा, अन्यमा समाहित गर्ने तथा अनुदानको कटौती गर्ने नीति अवलम्बन गर्ने उल्लेख छ ।
विद्यालयमा शैक्षिक गुणस्तर सुदृढीकरणका लागि विद्यालय भौतिक पूर्वाधार, दिवा खाजा, छात्रवृत्ति, निःशुल्क पाठ्यपुस्तक तथा सरसफाई सामग्री वितरण, छात्राहरुका लागि निःशुल्क स्यानिटरी प्याड व्यवस्थापन, अनौपचारिक तथा वैकल्पिक शिक्षा कार्यक्रम सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । बुधबार गाउँ सभामा आर्थिक वर्ष २०७८/०७९ का लागि नीति तथा कार्यक्रम पेश गरिएको छ ।