रुकुम पूर्व जिल्ला अस्पताल विकास समितिको अध्यक्षमा फत्ते ओली मनोनित हुनु भएको छ । लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ओलीलाई अस्पताल विकास समितिको अध्यक्षमा मनोनित गरेको हो । प्रदेश सरकारको असार १ गतेको निर्णय अनुसार ओलीलाई अस्पताल विकास समितिको अध्यक्षमा मनोनय गरिएको मन्त्रालयले जनाएको छ ।
तीन वर्षे कार्यकालका लागि ओलीलाई अध्यक्ष मनोनयन गरिएको हो । प्रदेश स्वास्थ्य संस्थापना, सञ्चालन, नविकरण तथा स्तरोन्नती नियमावली २०७७ को दफा २५ बमोजिम ओलीलाई अध्यक्ष मनोनय गरिएको बताइएको छ । समितिको सदस्यमा भावना बुढाथोकीलाई मनोनयन गरिएको छ ।
समितिकाे अरु सदस्यमा सम्बन्धित गाउँपालिकाको अध्यक्ष सदस्य, प्रमुख जिल्ला अधिकारी सदस्य र अस्पताल प्रमुख सदस्य सचिव गरी ५ सदस्यीय समिति रहने व्यवस्था छ । हालसम्म भने प्रमुख जिल्ला अधिकारी राजकुमार राईले अध्यक्षको कामकाज चलाउँदै आउनुभएको छ । २०७६ मसिर ५ गते जिल्ला अस्पतालकाे उद्घाटन भएकाे थियाे ।