कर्णाली प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री विमला केसीले कृषि उत्पादन र कृषक प्रोत्साहनमा जोड दिनुपर्ने बताउनुभएको छ । रुकुम पश्चिम मुसीकोट नगरपालिकाको नवौं नगर सभा सम्बोधन गर्दै पूर्व मन्त्री केसीले उत्पादन नबढाई, कृषक प्रोत्साहन नगरी समृद्धि पूरा नहुने बताउनुभयो । स्थानीय तह नजिकको सरकार भएको र अलि धेरै किसानमैत्री बन्नुपर्नेमा जोड दिनुभयो ।
मुसीकोट नगर सभामा पेश भएको नीति कार्यक्रमहरु उत्पादन, बजारीकरणका लागि महत्वपूर्ण रहेको भन्दै उहाँले यसको कार्यान्वनमा जोड दिनुभयो । आय आर्जन बढाउनुपर्ने आवश्यक्ता औल्याउँदै पूर्व मन्त्री केसीले भौतिक पूर्वाधार निर्माणका साथै आयआर्जनलाई पनि उच्च प्राथमिकता दिनुपर्ने बताउनुभयो । जिल्लामा कर्णाली प्रदेश तथा स्थानीय तहबाट लगानी भएको थुप्रै उद्योगहरु रहेको भन्दै उहाँले त्यसको सञ्चालनमा ध्यान पुर्याउनुपर्ने बताउनुभयो ।
कतिपय संरचना बनेको तर सञ्चालनमा नआउँदा त्यसले गरिएको लगानी खेर जाने र सम्बन्धित क्षेत्रका जनता निरास हुनुपर्ने वाातावरण बढ्दै गएकाले यसतर्फ गम्भिर ध्यान दिनुपर्नेमा उहाँको जोड छ । जिल्लाका ६ वटै स्थानीय तहले बनाउने नीति, कार्यक्रम र बजेट सिद्धान्त अनुसार नै परिचालन हुन सकेपछि विकास र समृद्धि टाढा नभएकाले यसमा लाग्न सबै स्थानीय सरकारलाई आग्रह गर्नुभयो । स्थानीय सरकारसँग प्रदेश सरकारले हातेमालो गर्ने र विकासमा सकेको सघाउने प्रतिबद्धता पनि उहाँले जनाउनुभएको छ ।