रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको छ । स्थानीय सरकार सञ्चालन ऐन अनुसार विहीबार नगरप्रमुख गोर्खबहादुर केसीले नगर सभामा आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम पेश गर्नुभएको हो । नगर सभामा पेश भएको नीति तथा कार्यक्रममा हरेक क्षेत्रलाई प्राथमिकता दिइएको छ । विशेष गरी ५ वटा क्षेत्रमा सम्पूर्ण कुरा समेटेर नीति तथा कार्यक्रम ल्याइएको छ । सामाजिक विकास, पूर्वाधार विकास, आर्थिक विकास, वन, वातावरण, भू–संरक्षण तथा फोहोर मैला व्यवस्थापन सम्बन्धी नीति, संस्थागत विकास, सुशासन तथा सेवा प्रवाह सम्बन्धी नीतिलाई मुल नीति मानेर यी नै शीर्षकलाई मुख्य मानेर यसमा विभिन्न नीति तथा कार्यक्रम तय गरिएको छ । सामाजिक विकास क्षेत्र अन्तर्गत शिक्षा, युवा तथा खेलकुद, स्वास्थ्य, सामाजिक सुरक्षा तथा समावेशिकरण सम्बन्धी नीति कार्यक्रम बनेका छन् ।
पूर्वाधार विकास क्षेत्र अन्तर्गत सडक तथा पुल पुलेसा,सिचाई खानेपानी तथा सरसफाई, विद्युत तथा बैकल्पिक उर्जा,सूचना तथा सञ्चार र भवन तथा निजी आवास सम्बन्धी नीति कार्यक्रम बनाइएको छ । आर्थिक विकास अन्तर्गत कृषि तथा पशुपालन, उद्योग तथा वाणिज्य, संस्कृति तथा पर्यटन, सहकारी, गरीबी निवारण तथा रोजगार व्यवस्थापन सम्बन्धिका नीति तथा कार्यक्रम उल्लेख छन् । यसैगरी चौथेमा वन, वातावरण, भू–संरक्षण तथा फोहोर मैला व्यवस्थापन सम्बन्धी नीति तथा कार्यक्रम निर्माण गरिएको छ भने पाँचौंमा सुशासन तथा सेवा प्रवाह अन्तर्गत संगठनात्मक विकास तथा मानव संशाधन,संस्थागत क्षमता विकास,स्रोत परिचालन तथा सुशासन,सरकारी तथा गैरसरकारी संघ संस्था र समन्वय तथा सहकार्य सम्बन्धिको नीति तथा कार्यक्रम तय गरिएको छ ।
कोभिड–को कारण विधालयहरु बन्द रहेकोमा, कोभिड–१९ बिरुद्धको खोप सुरु भैसकेको तथा क्रमशः शिक्षकहरुमा समेत खोप दिन थालिएकोले जति सक्यो छिटो सहज स्थिति श्रृजना गरी विधालयहरु संचालनमा ल्याइने छ । सार्वजनिक निर्माणमा युवाहरुको सहभागिता र नेतृत्व स्थापना गर्न बिशेष पहल गर्ने, प्रधानमन्त्री तथा मुख्यमन्त्री रोजगार कार्यक्रममा युवा सहभागितामा जोड गरिन, उधोग व्यवसाय आदिमा युवा शक्तिको परिचालन गर्ने नीति लिइने नीति तथा कार्यक्रममा उल्लेख छ ।
महामारीबाट आम नगरबासीको जीउ धनको सुरक्षा गर्न महामारी नियन्त्रणका लागि आवश्यक तयारीका सबै कार्य गरिने, नगर अस्पतालमा भौतिक पूर्वाधार तथा औजार उपकरण व्यवस्थित गरी विशेषज्ञ सेवा थप गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । नगर अस्पतालमा विषेशज्ञ सेवा सुचारु भएका आँखा उपचार, आयुर्वेद सेवालाई थप व्यवस्थित बनाउदै थप सेवाको रुपमा हाडजोर्नी सिएसआर दाँत उपचार सेवा समेत संचालनमा ल्याइनेछ । आठबीसकोट नगर अस्पताललाई टिचिङ अस्पतालको स्वरुपमा बनाई प्राविधिक स्वास्थ्य विषयको पठनपाठन हुने व्यवस्थाको लागि पहल थालिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
बालबालिका, अपांगता भएका व्यक्तिहरु, बृृद्वबृृद्वा लगायत लक्षित वर्गको संरक्षण, सशक्तिकरण र क्षमता विकासका लागि सामाजिक सुरक्षा र सम्मानको ब्यवस्था गरिने, । सदियौं देखिपछि पारिएका महिलाहरुको आर्थिक,सामाजिक,साँस्कृतिक रुपान्तरणमा बिशेष जोड दिइने नीति तथा कार्यक्रममा उल्लेख छ । सहिद तथा वेपत्ता योद्वाका परिवार, घाइते योद्वाहरुको यथोचित व्यवस्थापन तथा सम्मानका कार्यक्रमहरु सञ्चालन गरिनेछ । टुहुरा बालबालिका, विशेष क्षमता भएका बालवालिकाहरको संरक्षण एवं पठनपाठनको आवश्यक व्यवस्थापन गरिनेछ । नगर भित्रका सबै सडकको समयमै मर्मत संभार गरिनेछ ।
दाँजे–खदि सडक निर्माण गर्न विशेष पहल गरिने छ । वडा नं.१,२ र ३ लाई आर्थिक वर्ष २०७८/०७९ भित्र जोड्न प्रयास केन्द्रित गरिनेछ । पहाडा, पाटागाउँ, छिमि, जागे जलिगार जस्ता दुर दराजका गाउँहरु सम्म सडक संजाल पुर्याउन निर्माण कार्य अगाडि बढाउने नीति तथा कार्यक्रममा उल्लेख छ । आर्थिक वर्ष २०७८/०७९ भित्र नेटी लेखको टावर सञ्चालनमा ल्याउन, घेत्माको टावरमा विद्युत ब्यवस्थापन गरी फोरजि सेवा सञ्चालन गर्न, राडीज्युला सम्म अप्टीकल फाईबर लाईन पुर्याउन र ल्याण्ड लाइनको वितरण गर्न तथा राडिज्युलामा थप टेलिफोन टावर सञ्चालन गर्ने कार्य नेपाल टेलिकम मार्फत सम्पन्न गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।