Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसीकोट १ र ५ का विद्यालय खुल्न थाले

कोरोना संक्रमित देखिएपछि बन्द भएका मुसीकोट नगरपालिका १ र ५ का विद्यालय खुल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालयले हिजो नगरपालिकाले सूचना जारी गरे अनुसार विद्यालय खुल्ने भनेपछि आजबाट विद्यालयहरु खुल्न थालेका हुन् । नगरपालिकाले विद्यालय खोल्न भनेपछि बिद्यालयहरुले आज देखि पठनपाठन गर्न सुरु गरेका छन् । केहि विद्यालयले आज देखि पठन पाठन सुरु गरेको, केहिले भोली देखि सुरु गर्ने र केहिले आईतबार देखि पठन पाठन सुरु गर्ने भनेको नगर शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख बिनाराम खड्काले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालयको पत्र प्राप्त भएपछि विद्यालय खोल्न भनेको तर यहि दिनबाट बिद्यालय खोल्नुहोस नभनेको उहाँको भनाई छ । केहि विद्यालयमा कक्षा १२ को परीक्षा संचालन भइरहेकाले आईतबारबाट बिद्यालय खोल्ने प्रध्यानाध्यापकहरुले जानकारी गराएको खड्काले बताउनुभयो । ‘बिद्यालय खुल्न सुरु भइसकेका छन्, सबै बिद्यालय आईतबारसम्म खुलिसक्छन् उहाँले भन्नुभयो ।’ मुसीकोटमा १६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि मंसिर ९ गते बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकले मुसीकोट १ का सबै र मुसीकोट ५ का बजार क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको थियो ।

जसअनुसार मंसिर १० देखि वडा नं. १ का नीजि र संस्थागत गरी १२ तथा वडा नं. ५ का बजार क्षेत्रका २ वटा बिद्यालयहरु बन्द भएका थिए । जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिले हिजो आईतबार देखि सल्लेमा लगाएको सिल खोल्ने, नगरपालिकाको सूचना अनुसार विद्यालय खोल्ने, यातायात र बजार संचालन पूर्ववत व्यवस्था अनुसार गर्न दिने निर्णय गरेको थियो ।

प्रकाशित मिति: सोमबार, मंसिर १५, २०७७  १८:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update