Kakhara सबैको खबर सम्पूर्ण खबर
जसले संक्रमित हुँदा पनि काम छाडेनन् ......
नियमित कामकाजका क्रममा श्रेष्ठ ।

चन्द्रसिङ श्रेष्ठलाई अहिले पनि निरन्तर जस्तो खोकी छ । खोकीले लामो समय बोल्न मिल्दैन । पखला पनि छ । रातिको समयमा शरीर दुख्ने, पसिना आउने समस्या लगातारदेखि छ । रुकुम पूर्वको भूमे गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठ आइसोलेसनमा हुनुहुन्छ । कोरोना संक्रमणपछि देखिने सम्पूर्ण लक्षण देखिएपछि उहाँ असार २ गते आइसोलेट हुनु भएको हो । कोरोना संक्रमणपछि पर्याप्त आराम हुनुपर्छ भन्ने स्वास्थ्यकै मापदण्ड छ । तर श्रेष्ठ भने यही समयमा बढी चापमा पर्नुभयो ।

आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति, कार्यक्रम तथा बजेट निर्माण, विषगत समितिका बैठक, छलफल तथा कार्यालयका दैनिक कार्य सम्पादनमा उहाँ छुट्नु भएन । कार्यालयका कुनै पनि कर्मचारीलाई संक्रमण भए केही समय कार्यालय नै बन्द गर्ने, कार्यालय शिल गर्ने गरिन्छ । स्वास्थ्य सुरक्षाको मापदण्ड पनि त्यो हो । तर यस पल्ट भूमे गाउँपालिकामा न कार्यालय बन्द गरियो न शिल नै । कार्यालय प्रमुख नै संक्रमित हुनुभयो । तर कुनै पनि काम राकिएको छैन ।

अरु काम त चल्यो नै संक्रमित भएर आइसोलेट भएका प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले पनि निरन्तर काम गरिरहनु भएको छ । दैनिक कार्य सम्पादन, बजेट भुक्तानी तथा अरु भैपरी आउने बैठक, छलफलमा पनि उहाँको भर्चुअल सहभागिता भइनै रह्यो । कार्यालयको तालिम हललाई गाउँपालिकाले यस अघि नै कर्मचारीका लागि आइसोलेसन वार्ड बनाएको छ ।

यस अघि संक्रमित कर्मचारी पनि त्यतै आइसोलेट हुने गर्दथे । यस पल्ट पनि प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठ अर्का एक कर्मचारीसित आइसोलेट हुनुहुन्छ । ३ मध्य एक कर्मचारीलाई बढी च्यापेपछि दाङ पठाई सकिएको छ । ‘हाम्रो यहाँ सजिलै छ र कामकाज रोकिएन’ श्रेष्ठले भन्नुभयो, ‘सुरक्षा सर्तकता अपनाएर झ्यालबाट कागजात रिसिभ गर्ने पठाउने काम गरियो, यसमा मास्क र ग्लोब्सको प्रयोग अत्यधिक भयो ।’

कार्यालयकै एउटा शौचालय आइसोलेसनमा बस्नेहरुका लागि बनाइएको छ । आइसोलेसनमा खाना पकाउँने व्यवस्था छ । त्यो पनि गर्नुपर्छ । कतिपय खाना बाहिरबाट पनि आउँछ । यी नै सतर्कताको कारण आफू संक्रमित हुँदा पनि दैनिक कामकाज रोक्नु नपरेको श्रेष्ठले बताउनुभयो । यही बीचमा असार ९ गते आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम गाउँ सभामा पेश भएको छ ।

यो निर्माणमा पनि श्रेष्ठले पर्याप्त समय दिनुभयो । अध्यक्ष, उपाध्यक्ष तथा विषयगत समितिको राय लिएर उहाँले झण्डै एक हप्ता लाएर नीति, कार्यक्रम तथा बजेट तयार पार्नुभयो । ९ गते पेश भएको नीति कार्यक्रम ३१ र १० गते गाउँ सभामा पेश गरिएको बजेट ५५ पृष्ठ लामो छ । ‘काम हेरेर बस्न मनले मानेन दिउँसो दैनिक कामकाज गरेर राति नीति, कार्यक्रम र बजेटमा काम गरियो,’ श्रेष्ठले भन्नुभयो, ‘यसमा अध्यक्ष, उपाध्यक्ष,वडाध्यक्ष तथा अन्य जनप्रतिनिधिहरु, विषयगत समिति, कार्यालयका सम्पूर्ण कर्मचारीको त सहयोग रहने नै भयो ।’ नीति, कार्यक्रम गाउँ सभामा पेश भएकाले अब अलि कामको चाप घटेको उहाँको भनाई छ ।

भूमे गाउँपालिकाले नीति, कार्यक्रम र बजेटका लागि अलि पहिल्यैबाट तयारी पनि गरेको थियो । जेठ १० गते हरेक वडालाई बजेटको सिलिङ पठाइएको थियो । जेठ २० गते नै वडाले टोल, वस्ति र वडाका कार्यक्रम तयार बनाइसकेकाले झन सजिलो भएको श्रेष्ठले बताउनुभयो । भूमे गाउँपालिका अध्यक्ष रासमुर बुढा मगरले प्रमुख प्रशासकीय अधिकृत आइसोलेटेड हुँदा पनि उहाँको अभाव नहुने गरी काम गरेको बताउनुभयो ।

दैनिक कार्य सम्पादनको साथसाथै नीति, कार्यक्रम तथा बजेट निर्माणमा उहाँकै भूमिका रहेको अध्यक्ष बुढाले बताउनुभयो । ‘हामीले नीति, कार्यक्रम र बजेटका विषयहरु म्यासेन्जरमा पठायौं,’ अध्यक्ष बुढाले भन्नुभयो, ‘बाँकी सबैकाम उहाँबाटै भयो, नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्ने औपचारीक कार्यक्रममा मात्रै उहाँको भौतिक उपस्थिति भएन अरु सबैमा केही कमी हुन दिनु भएन ।’ प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठबाट दैनिक कार्य सम्पादन पनि साविककै सूची र तालिका अनुसार नै भइरहेको अध्यक्ष बुढाले बताउनुभयो । 
 

प्रकाशित मिति: शुक्रबार, असार ११, २०७८  १३:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update