नेकपा माओवादी केन्द्रको युवा संगठन योङ्ग कम्युनिष्ट लिग वाइसीएल विपद्, उद्दार र राहतमा खटिने भएको छ । वाइसीएल रुकुम पश्चिम जिल्ला कार्यालयको बैठकले वर्षातका कारण जिल्लाका कुनै पनि ठाउँमा हुने विपद्, उद्दार र राहतमा जुट्ने निर्णय गरेको हो ।
वर्षा नलाग्दै देशव्यापी वर्षाले क्षेती गरेकाले जिल्लामा पनि त्यस्तो क्षेती हुन सक्ने भन्दै त्यसमा खटन पटनका लागि सेल, वडा, पालिका तथा जिल्ला समितिका साथै सम्पूर्ण युवाहरुल्लाई परिचालन गर्ने निर्णय गरिएको हो । बैठकले विपद् जोखिम न्यूनिकरणका लागि सतर्कता र सचेतनाका लागि कार्यक्रम गर्ने निर्णय पनि गरेको इन्चार्ज शैलेश शर्माले जानकारी दिनुभयो ।
सोही बैठकले हरेक समितिका सदस्यबाट उठ्ने लेवीबाट राहत कोष स्थापना गर्ने निर्णय पनि गरेको छ । वासीएल जिल्ला कार्यालयको बैठकले कोरोना भाइरस विरुद्ध संगठनले चालेको जनचेतनामूलक कार्यक्रमको समिक्षा गरेको छ । यो कार्यक्रमलाई निरन्तरता दिने निर्णय पनि बैठकले गरेको छ ।
यसका साथसाथै महामारीलाई ख्याल गर्दै प्रदेश तथा स्थानीय तहका विकास निर्माणका योजनामा युवा परिचालन, कृषि, पशुपालन र अरु व्यवसायमा जोडिएर रोजगार स्वरोजगार हुनका लागि संगठनले पहल गर्ने निर्णय पनि बैठकले गरेको इन्चार्ज शर्माले जानकारी दिनुभयो ।