Kakhara सबैको खबर सम्पूर्ण खबर
नायगाडमा पालिका अस्पताल शिलान्यास, चुनवाङमा हुन सकेन
नायगाडमा पालिका अस्पताल शिलान्यास गर्दै सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बराल र उपाध्यक्ष गोबद्र्धन बुढा लगायत ।

रुकुम पूर्वको सिस्ने गाउँपालिका–२, नायगाडमा ५ शैय्याको अस्पताल शिलान्यास भएको छ । गाउँपालिका अध्यक्ष कुमारी बरालले अस्पतालको शिलान्यास गर्नुभयो । हाल स्वास्थ्य चौकी रहेको ठाउँमा अस्पताल निर्माण हुन लागेको हो । जिल्लाका दुई स्थानीय तहमा ५/५ शैय्याका अस्पताल निर्माण हुन लागेका छन् । सिस्ने गाउँपालिका र भुमे गाउँपालिका अस्पताल निर्माणका लागि छनौटमा परेपनि भुमेमा भने आज अस्पताल शिलान्यास हुन सकेन् । वडा नं. ९ को चुनवाङमा अस्पताल निर्माण हुने छ । विभिन्न कारणले आज अस्पताल शिलान्यास हुन नसकेको गाउँपालिकाले जनाएको छ । केहि दिनमा अस्पतालको शिलान्यास हुने र तोकिएको समयभित्रै अस्पताल निर्माण हुने गाउँपालिका अध्यक्ष रामसुर बुढाले जानकारी दिनुभयो ।

संघीय सरकारको सहयोगमा देशभरका सात वटै प्रदेशका तीन सय ९६ स्थानीय तहमा ५, १० र १५ शैय्याका अस्पताल निर्माण हुँदै छन् । जसअनुसार रुकुम पूर्वका दुई स्थानीय तहका दुर्गममा अस्पताल निर्माण हुन लागेको हो । अस्पताल निर्माणका लागि यो वर्ष ७० लाख बजेट प्राप्त भएको छ । अस्पतालका लागि बाँकी रकम अर्को वर्ष प्राप्त हुने छ । दुर्गममा अस्पताल निर्माण भएमा दुर्गमका नागरिकहरुलाई सहज हुने छ । एम.वि.वि.एस. डाक्टर सहितका स्वास्थ्यकर्मिको व्यवस्था सहित अस्पताल संचालन हुन लागेपछि दुर्गमका नागरिकहरु हर्षित भएका छन् । अहिलेसम्म स्वास्थ्य चौकीबाट सामान्य स्वास्थ्य सेवा पाईरहेका नागरिकहरु डाक्टरबाट घर आँगनमै स्वास्थ्य सेवा पाईने भन्दै हर्षित भएका हन् ।

जिल्लाको सबैभन्दा दुर्गम पालिकाका रुपमा रहेको पुथाउत्तरगंगा गाउँपालिका भने अस्पतालका लागि छनौटमा पर्न सकेन । कोलमा अस्पताल संचालनका लागि सिफारिस गरिएकामा आवश्यक जग्गा उपलब्ध हुन नसकेपछि अस्पतालका लागि छनौटमा पर्न नसकेको बताईएको छ । कोलमा हाल प्राथमिक स्वास्थ्य केन्द्र संचालनमा छ । त्यहाँ डाक्टरको दरबन्दि छ । तर नियमित रुपमा डाक्टर नबस्दा त्यहाँका नागरिकहरुले भरपर्दो स्वास्थ्य सेवा पाउन सकेका छैनन् ।

प्रकाशित मिति: सोमबार, मंसिर १५, २०७७  २१:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update