कर्णाली प्रदेशको प्रसिद्ध धार्मिक स्थल डिग्रे शाईकुमारी मन्दिरमा गत आर्थिक वर्ष देखि विभिन्न पूर्वाधारका काम भइरहेका छन् । पञ्चवर्षीय योजना अन्तरगत मन्दिरमा विभिन्न संरचना निर्माणको काम भइरहेको हो । रुकुम पश्चिमको मुसीकोट नगरपालिका ५, थर्पुमा रहेको मन्दिर सम्म पुग्ने सडक, मन्दिर देखि तलको फिल्ड निर्माण, पर्खाल र मेसेनरीवाल निर्माण लगायतका काम भइरहेका छन् ।
गत आर्थिक वर्षमा ४५ लाखको काम भएकोमा चालु आर्थिक वर्षमा पनि ३५ लाखका विभिन्न योजनाका काम भइरहेको छ । गत वर्ष डिभिजन वन कार्यालयको २५ लाख र संघीय सरकारको २० लाखमा मन्दिर सम्म पुग्नको लागि सिढी निर्माण, मन्दिर मुनि मेसनरिवाल निर्माण लगायतका काम भएको थियो ।
त्यस्तै यो वर्ष पनि डिभिजन वन कार्यालयको २५ लाख र संघीय सरकारको १० लाखमा सिद्धको मन्दिर देखि माथि सिडि निर्माणको साथै नयाँ बन्ने सिद्धको मन्दिरको लागि फिल्ड निर्माणको काम भइरहेको मन्दिर व्यवस्थापन समितिका सचिव डिलबहादुर केसीले जानकारी दिनुभयो । पञ्चवर्षीय योजना अनुसार ५ वर्षमा मन्दिर परिसरमा विभिन्न भौतिक संरचना निर्माणका काम हुनेछन् । गत वर्ष र यो वर्ष भएको कामले मन्दिर परिसर व्यवस्थित देखिदै गएको छ ।