भैंसी ब्लक अन्तरगत मुसीकोटमा ६८ वटा भैंसी वितरण रुकुम पश्चिमको मुसीकोट नगरपालिकाका २ वडामा ६८ वटा भैंसी वितरण गरिएको छ । प्रधामन्त्री कृषि आधुनिकिकरण परियोजनाको भैंसी ब्लक कार्यक्रम अन्तरगत वडा नं. २ र ५ मा ६८ वटा मुर्रा र मुर्रा क्रस जातका भैंसी वितरण गरिएको हो ।कर्णाली प्रदेश भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र कृषकहरुको लागत साझेदारीमा भैंसी ब्लक कार्यक्रम अन्तरगत नगरपालिकामा कुल ८५ वटा भैंसी वितरण गरिदै छ । नगरपालिकामा २ वटा भैंसी ब्लक रहेका छन् ।
जसअनुसार अहिलेसम्म ब्लक ‘ए’ को मुसीकोट नगरपालिका वडा नं. २ मा ५८ वटा र ब्लक ‘बि’ अन्तरगत वडा नं. ५ मा १० वटा भैंसी वितरण गरिएको पशु सेवा कार्यालय तथा पशु अस्पतालका निमित्त कार्यालय प्रमुख ज्ञानुकुमार शर्माले जानकारी दिनुभयो । यो कार्यक्रम जिल्लामा पशु सेवा कार्यालय तथा पशु अस्पतालले कार्यन्वयन गरिरहेको छ । अव १७ वटा भैंसी आउन बाँकी रहेको शर्माले बताउनुभयो । उक्त भैंसी मध्य १० वटा मुसीकोट ५ मा र ७ वटा भैंसी मुसीकोट २ मा वितरण गरिने उहाँको भनाई छ ।
यो कार्यक्रमका लागि कुल १ करोड ४० लाख खर्च हुँदै छ । जसमा ७० लाख कर्णाली प्रदेशले पठाएको हो भने ७० लाख किसानले व्यहोरेका छन् । प्रति भैंसी १ लाख २० हजार देखि १ लाख ३० हजारसम्म मुल्य पर्दा किसानले प्रति भैंसी ५०–६५ हजारसम्म व्यहोरेको शर्माले बताउनुभयो । नगरपालिकालाई दुधमा आत्मनिर्भर बनाई कृषकको आयआर्जनमा बृद्धि गर्ने उद्ेश्यका साथ यो कार्यक्रम लागु भएको नगर प्रमुख देविलाल गौतमले बताउनुभयो । उहाँले वितरण गरिएका भैंसीबाट कम्तीमा पनि ५ बर्षसम्म आम्दानी लिन किसानहरुलाई आग्रह गर्नुभयो ।
आज मुसीकोट नगरपालिका ५ मा १० वटा भैंसी वितरण गर्दै नगर प्रमुख गौतमले प्राप्त भैंसीबाट प्रयाप्त आम्दानी गर्न आग्रह गर्दै यसमा किसानले गडबढी गरे कारवाही हुने चेतावनी समेत दिनुभयो । बाँके र बर्दीयाबाट भैंसी खरिद गरेर ल्याई भैंसी वितरण भइरहेको पशु सेवा कार्यालय तथा पशु अस्पतालले जनाएको छ ।