रुकुम पश्चिमको मुसीकोट नगरपालिका र गुल्मीको मुसीकोट नगरपालिकाले एक अर्काविचमा सम्बन्ध विस्तारको प्रयास थालेका छन् । आज गुल्मीको मुसीकोट नगरपालिकाका नगर प्रमुख सोमप्रसाद सापकोटा र प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुषाल सहितको १३ जनाको टोली रुकुम पश्चिमको मुसीकोट नगरापालिका पुगेको छ ।
दुई नगरपालिका विचमा आगामी दिनमा कसरी सम्बन्ध विस्तार गर्न सकिन्छ र सहयोग आदान प्रदान गर्न सकिन्छ भनेर छलफल भएको छ । एकै नाम भएका दुई नगरपालिकाले आगामी दिनमा भगिनी सम्बन्ध कायम गर्ने गरी छलफललाई अगाडि बढाएका हुन् । भोलीका दिनमा कसरी सहयोगलाई आदान प्रदान गर्न सकिन्छ भनेर छलफल सुरु भएको मुसीकोट नगरपालिका रुकुम पश्चिमका प्रमुख प्रशासकीय अधिकृत नरहरी तिवारीले जानकारी दिनुभयो ।
नाम एउटै भएको, भौगोलिक रुपमा समानता रहेको र मध्यपहाडी लोकमार्गले पहुँचमा जोडेको अवस्थामा एक अर्काविचमा प्राविधिक सहयोग आदान प्रदान गर्ने, सामाजिक, आर्थिक, साँस्कृतिक पक्षलाई निरन्तर एक अर्कासंग जोड्ने गरी औपचारिक प्रयास सुरु भएको उहाँले बताउनुभयो । आज आएको टोलीले मुसीकोट खलंगा बजार, मुसीकोट दरबार क्षेत्र लगायत नगरपालिकाका विभिन्न ठाउँको अवलोकण गरेको छ ।
त्यस्तै दुई स्थानीय तहले आ आफ्ना पालिकाका अनुभव आदान प्रदान गरेका थिए । त्यस्तै मुसीकोट नगरपालिका रुकुम पश्चिमका प्रमुख देविलाल गौतमले मुसीकोट नगरपालिका गुल्मीका प्रमुख सोमप्रसाद सापकोटालाई असार १० गते नगरसभामाबाट पास भएको नीति, कार्यक्रम प्रदान गर्नुभएको थियो ।
अहिले गुल्मीको टोली रुकुम पश्चिम आएको र अव आफुहरु त्यहाँ अवलोकणका लागि जाने नगर प्रमुख गौतमले बताउनुभयो । दुई स्थानीय तहका विचमा एक किसिमले सम्बन्धको सुरुवात भएको र भोलीका दिनमा त्यो सम्बन्ध भगिनीका रुपमा कायम हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । गुल्मीको मुसीकोटले यसअघि नै रुपन्देहीको तिलोत्तमा नगरपालिकासंग भगिनी सम्बन्ध कायम गरिसकेको छ ।
नगरपालिकाले तिलोत्तमासंग भगिनी सम्बन्ध कायम भएपछिको फाईदा र सहयोग आदानप्रदानका बारेमा जानकारी गराएको थियो । मुसीकोट नगरपालिका गुल्मीको टोली आज फिर्ता पनि भएको छ ।