२०१८ साल अघि रुकुम छुट्टै जिल्ला थिएन । यस भूभागका अधिकांस गाउँ पञ्चायत सल्यानमा थिए भने केही बाग्लुङ र केही प्युठानमा । नेपालका ३७ जिल्लाबाट ७५ जिल्ला घोषणा भएपछि मात्रै रुकुम छुट्टै जिल्ला बने । २०१८ सालमा जिल्लाको संख्या बढाइयो । संख्या बढेसँगै भएको नयाँ जिल्ला रुकुमको सदरमुकाम राखियो रुकुमकोटमा । २०१८ सालमा जिल्लाको निर्णय भएपछि २०१९ देखि रुकुमकोटमा सरकारी कार्यालय राखियो । विधिवत रुपमा जिल्लाको सदरमुकाम रुकुमकोट राखिएपछि जिल्ला पञ्चायत, पिडिओ कार्यालयदेखि अरु थाना, हुलाक र अदालत लगायतका कार्यालय पनि रुकुमकोटमै राखियो । सबै निजि घरमा कार्यालय राखेर जिल्ला चलाउन सुरु भयो । जिल्ला पञ्चायतका प्रमुखदेखि अरु सदस्य तथा अन्य सबै सरकारी कार्यालय भाडाकै घरमा चलाइयो । भाडाकै घरमा जिल्ला चल्यो ।
दुई वर्ष सम्म भाडाको घरमा जिल्ला चलाइएपछि जिल्ला पञ्चायका लागि स्थानीयले घर बनाए । नगद संकलन तथा श्रमदान गरेर २०२१ सालमा जिल्ला पञ्चायतका लागि भवन बनाउन थालियो । तत्कालिन बाहुनठाना गाउँ पञ्चायतका प्रधानपञ्च हुनुहुन्थ्यो, लोकेन्द्रबहादुर शाह । उहाँकै गाउँ पञ्चायतमा जिल्ला पञ्चायतको घर बनाउन थालियो । २०२१ मा सुरु भएको उक्त भवन २०२८ मा निर्माण सम्पन्न भयो । २३ हजार जति नगद र अरु सबै स्थानीयको श्रमदानबाट उक्त जिल्ला पञ्चायत घर बन्यो । जिल्ला पञ्चायत घर बन्दै गर्दा मुद्दा परेपछि उक्त निर्माण कार्य लम्बिएको थियो । जिल्ला पञ्चायतको घर निर्माण भएपछि २ वर्ष मात्रै त्यो भवनमा जिल्ला पञ्चायत बस्यो । २०२८ देखि २०३० सम्म । २०३० सालमा सदरमुकाम खोसेर मुसीकोट ल्याइएपछि खाली बनेको उक्त पञ्चायत घर हाल लोप हुने अवस्थामा पुगेको छ ।
‘रुकुम अलग्गै जिल्ला बनेपछि त्यो नै पहिलो सरकारी भवन हो,’ भवन बनाउन पहल गरेका तत्कालिन बाहुनठाना गाउँ पञ्चायतका प्रधानपञ्च शाहले भन्नुभयो, ‘अब त्यो पनि नरहने अवस्थामा पुगेको छ ।’ २०२१ सालमा आफ्नो गाउँ पञ्चायतमा सरकारले तीन सय बजेट दिएको उहाँले सुनाए । उक्त तीन सय बजेटबाट गाउँ पञ्चायत भवन बनाएका उहाँले जिल्ला पञ्चायत भवन बनाउन त्यस क्षेत्रका सबैलाई परिचालन गरेको बताउनुभयो । बाहुनठाना गाउँ पञ्चायतले श्रमदान गर्ने र अरु पञ्चायतले नगद संकलन गरेर भवन बनेको उहाँले बताउनुभयो । तत्कालिन काँक्री गाउँ पञ्चायतवासीले पनि काठ बोकेर थप श्रमदान गरेका थिए । दुई तला तथा १२ कोठाको उक्त जिल्ला पञ्चायत घर अब एक तला ५ कोठामा सीमित भएको छ । स्थानीय रुक्मीणि माविको नाममा उक्त भवन भएपनि प्रयोग भने सिस्ने शिक्षा क्याम्पसले गरिरहेको छ । पूरानो संरचना भत्काएर क्याम्पसले २ कोठामा पठन पाठन गराइरहेको छ भने अरु कोठा स्टोरको रुपमा प्रयोगमा छन् ।
अरु बजेटको व्यवस्था भए सम्म उक्त भवन भत्काएर अर्को भवन बनाउने छलफल भइरहेको छ । क्याम्पस प्रमुख तीब्र गौतमले क्याम्पसलाई भवन अपुग भइरहेकाले उक्त भवन भत्काउने र नयाँ संरचना बनाउने गरी अनौपचारीक छलफल समेत भएको बताउनुभयो । ‘पूरानो संरचना जोगाएरै राख्ने भनेर पनि छलफल नभएको होइन तर क्याम्पस विस्तार गर्नुपर्छ भनेर नै भवनको मोडिफाइ गरिएको हो,’ क्याम्पस प्रमुख गौतमले भन्नुभयो, ‘क्यापसलाई अरु जग्गाको व्यवस्थापन गर्न सके जिल्ला पञ्चायत भवनलाई राख्न नसकिने पनि होइन ।’ जिल्ला पञ्चायत भवनको संरक्षण गर्ने हो भने पूरानै मोडेलमा संरक्षण गर्न सकिने र क्याप्सका लागि अरु व्यवस्थापन गर्नुपर्ने उहाँको भनाई छ ।