Kakhara सबैको खबर सम्पूर्ण खबर
खलंगा बजार सिसी क्यामेराको निगरानीमा 
खलंगाकाे त्रिवेणि चाेकमा जडान गरिएकाे सिसी क्यामेरा ।

रुकुम पश्चिमको सदरमुकाम मुसीकोट खलंगा बजारमा सिसी क्यामेरा जडान गरिएको छ । मुसीकोट नगरपालिकाले बजारका विभिन्न १२ ठाउँमा पहिलो पटक सिसी क्यामेरा जडान गरेको हो । जिल्लाको मुख्य केन्द्र खलंगा बजारलाई निगरानीमा राख्नका लागि खलंगा, बागबजार लगायतका विभिन्न ठाउँमा सिसी क्यामेरा जडान गरिएको मुसीकोट नगरपालिकाले जनाएको छ । यसबाट अपराध न्युनिकरणमा टेवा पुग्ने विश्वास गरिएको छ । शान्ति सुरक्षालाई बलियो बनाउने र विभिन्न अपराधिक गतिविधिलाई न्युनिकरण गर्नका लागि सिसी क्यामेरा जडान गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरी तिवारीले जानकारी दिनुभयो । 

यसबाट बजार क्षेत्र भित्रमा फोहोर मैला व्यवस्था हुने पनि विश्वास गरिएको छ । बजारका महत्वपूर्ण ठाउँहरुमा क्यामेरा जडान गरिएकाले बजारवासीले जथाभावि फोहोर फालेमा उसको पहिचान हुने भएकाले यसकार्यमा कमी आउने विश्वास गरिएको प्रमुख प्रशासकीय अधिकृत तिवारीले बताउनुभयो । समग्रमा अव बजार प्रहरीको निगरानीमा रहेको र यसबाट बजारमा शान्ति सुरक्षा, अमन चयन कामय हुने विश्वास गरिएको छ । नगरपालिकाले १५ लाख लगानीमा सिसी क्यामेरा जडान गरेको हो । बजारमा जडान गरिएका क्यामेराको कन्ट्रोल जिल्ला प्रहरी कार्यालयमा हुने छ । 

प्रहरीले यसको निगरानी गर्ने छ । अव अपराध अनुसन्धान र अपराध रोकथाममा सहयोग पुग्ने जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ध्रुवकुमार श्रेष्ठले बताउनुभयो । जिल्ला भरमा सिसी क्यामेरा जडानका लागि पहल गरिरहेको उहाँले बताउनुभयो । सिसी क्यामेराबाट प्रमाणमुखी अनुसन्धानका लागि फुटेजहरु प्राप्त हुने भएकाले अनुसन्धानमा सहयोग पुग्ने र सिसी क्यामेरा छ है भनेर नागरिकहरु पनि सचेत हुने उहाँको विश्वास छ । 
 

प्रकाशित मिति: सोमबार, असार १४, २०७८  ११:११
प्रतिक्रिया दिनुहोस्
Weather Update