स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले रुकुम पश्चिमको चौरजहारी अस्पताललाई विभिन्न स्वास्थ्य सामग्रीहरु सहयोग गरेको छ । १५ वटा ठुलो अक्सिजन सिलिण्डर, ३ वटा सानो अक्सिजन सिलिण्डर, एउटा कन्सन्ट्रेटर, १० वटा अक्सीमिटर र १० थान पिपिई सेट अस्पताललाई प्रदान गरिएको हो ।
संस्थाका सदस्यहरु, विभिन्न दाता व्यक्ति तथा संस्थाहरुको सहकार्यमा अस्पताललाई स्वास्थ्य सामग्री प्रदान गरिएको बताईएको छ । इप्पानका उपाध्यक्ष गणेश कार्कीको उपस्थितिमा इप्पानका कर्णाली प्रदेश संयोजक दिपक पौड्यालले चौरजहारी अस्पतालका कार्यकारी निर्देशक कपिल शर्मालाई हस्तान्तरण गर्नुभयो ।
रुकुम पश्चिम सहित जाजरकोट, सल्यान, डोल्पा र रुकुम पूर्वका समेत बिरामीहरुले यसबाट लाभ लिने विश्वास इप्पानले गरेको छ । इप्पानले देशका विभिन्न ठाउँमा स्वास्थ्य सामग्रीहरु सहयोग गरिरहेको छ ।