रुकुम पश्चिमको मुसीकोट नगरपालिकाले जोखिममा परेका तथा संरक्षणविहीन बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरेको छ । महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाले नगरपालिकाका विभिन्न वडाका ४० बालबालिकालाई शैक्षिक सामग्री प्रदान गरेको हो । नगरपालिकामा आयोजित कार्यक्रम मार्फत नगरप्रमुख देविलाल गौतम, प्रमुख प्रशासकीय अधिकृत नरहरि तिवारी लगायतले बालबालिकालाई शैक्षिक सामग्री प्रदान गर्नुभएको थियो ।
एउटा झोला, एक जोडा विद्यालय पोशाक, एक दर्जन कपी र एक दर्जन कलम प्रदान गरिएको छ । महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकी कमला मल्लले शैक्षिक सामग्रीको अभावले बालबालिका विद्यालय जानबाट रोकिनु नपरोस् भनेर शैक्षिक सामग्री प्रदान गरिएको बताउनुभयो ।
मल्लका अनुसार १ नम्बर वडाका १४, २ नम्बर वडाका ११, ३ नम्बर वडाका २, ४ नम्बर वडाका ८, वडा नम्बर ५ का १ जना, वडा नम्बर ७ का ३ जना र १४ नम्बर वडाका १ जनालाई शैक्षिक सामग्री प्रदान गरिएको छ । नगरपालिकाभित्र ८० जनामध्य ४० जनालाई सामाजिक विकास कार्यालयले शैक्षिक सामग्री प्रदान गर्ने तय भएको छ । नगरपालिकाले एक लाखको लगानीमा उक्त शैक्षिक सामग्री प्रदान गरेको हो ।