Kakhara सबैको खबर सम्पूर्ण खबर
७ बर्षपछि बल्ल सकिने भयो कवर्डहल निर्माणको काम, खेलाडि उत्साहित
खलंगाको बह्राटाकुरा स्थित अलपत्र अवस्थामा रहेको कवर्ड हल

जिल्ला ब्याडमिन्टन संघ रुकुम पश्चिमले २०७५ को माघ २० देखि २३ गतेसम्म सदरमुकाममा खुल्ला पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता संचालन गर्यो । त्यसको ठिक एक वर्षपछि २०७६ माघ २३ गतेदेखि २६ गतेसम्म प्रतियोगिताको दोस्रो संस्करण पनि संघले आयोजना गर्यो । यि दुवै संस्करण खलंगाकाको बालमन्दिर प्रांगनमा भए । ब्याडमिन्टन इन्डोर अर्थात बन्द कबर्डहल भित्र खेलिने खेल हो । त्यसै कारण यो ‘इन्डोर गेम’ भित्र पर्छ । तर जिल्ला ब्याडमिन्टन संघले दुवै प्रतियोगिता खुल्ला अर्थात ‘आउट डोर’मा खेलायो । पहिलो संस्करणको उद्घाटन र समापन दुवै कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित हुनुभएका मुसीकोट नगरपालिकाका प्रमुख देविलाल गौतमले अर्को पटक कवर्डहल भित्र प्रतियोगिता संचालन गर्ने व्यवस्था मिलाउने प्रतिबद्धता जनाउनुभयो । संयोगवश दोस्रो संस्करणमा पनि उहाँ नै प्रमुख अतिथिका रुपमा उपस्थित हुनुभयो । तर उहाँले भने अनुसार दोस्रो संस्करण कवर्डहल भित्र संचालन भइरहेको थिएन् । उहाँले पुनः दोहोर्याउनु भयो अव छिट्टै खलंगामा रहेकाे कवर्डहल निर्माणकाे बाँकी काम सकिन्छ र कवर्डहल भित्र ब्याडमिन्टन खेल्न पाउँनुहुन्छ ढुक्क हुनुहोस् । उहाँले उक्त प्रतिबद्धता दोहोर्याएको पनि झण्डै एक वर्ष पुग्न लागिसक्यो ।

अव भने खलंगाको बह्राटाकुरामा रहेको कवर्डहलको निर्माण कार्यले पूर्णता पाउँने भएको छ । २०७० सालमा निर्माण कार्य सुरु भई निर्माण कार्य अहिलेसम्म पनि सम्पन्न हुन नसकेको कवर्डहलले अव भने पूर्णता पाउने भएको छ । त्यसका लागि प्रतिनिधि सभा सदस्य जनार्दन शर्मा ‘प्रभाकर’को पूर्वाधार क्षेत्र विकास कार्यक्रम अन्तरगत बजेट प्राप्त हुने भएको छ । कवर्डहलको बाँकी काम सक्नका लागि २० लाख बजेट आउँन लागेको मुसीकोट नगरपालिकाका प्रमुख गौतमले जानकारी दिनुभयो । ‘पहिले नै सक्ने भनेको कवर्डहलको बाँकी काम विभिन्न कारणले ढिलाई भइरहेको थियो,’ उहाँले भन्नुभयो, ‘अव भने कवर्डहल निर्माणले पूर्णता पाउँने भएको छ, यसका लागि २० लाख बजेट आउँदै छ ।’ मुसीकोट नगरपालिकामा यो वर्ष पूर्वाधार क्षेत्र विकास कार्यक्रम अन्तरगत ४५ लाख बजेट आउँन लागेकामा २० लाख बजेट कवर्डहलको बाँकी काम सक्न खर्च हुन लागेको नगरपालिकाले जनाएको छ ।

जिल्ला समन्वय समितिले पूर्वाधार क्षेत्र विकास कार्यक्रम अन्तरग यो वर्ष कार्यान्वयन हुने जिल्ला भरका सबै योजना सिफारिस गरेर पठाएको थियो । त्यस मध्येमा कवर्डहल निर्माणको योजना पनि रहेको जिल्ला समन्वय समितिका प्रमुख राजकुमार शर्माले बताउनुभयो । खेलाडिहरुको पटक पटकको मागका आधारमा कवर्डहलको निरिक्षण गरी बाँकी काम सक्न कति बजेट आवश्यक पर्छ भनेर अनुमान गरेर बजेट प्रस्ताव गर्दै सिफारिस गरिएको उहाँको भनाई छ । २० लाख जतिले बाँकी काम सकिने देखिएपछि सोहि अनुसार बजेट बाँडफाँड भएको उहाँले बताउनुभयो ।

कवर्डहल निर्माणका लागि हालसम्म ७२ लाख १६ हजार ४ सय ४६ रुपैंया खर्च भएको छ । यो रकममा दिवा निर्माण सेवा प्रा.लिले २०७२ सालमा बारबन्दी बाहेक कबर्डहलको अन्य संरचना निर्माण गरेको थियो । १८ महिनामा काम सम्पन्न गर्नेगरी २०७० मंसिर १८ गते कवर्डहल निर्माणको सम्झौता भएकामा सम्झौता भन्दा ६ महिना ढिला गरी प्रालिले आफुले पाएको म्याण्डेट अनुसारको काम सम्पन्न गरेको थियो । बारबन्दीको काम अहिले पनि बाँकी नै छ । बारबन्दी बाहेकको काम सकिदा पनि बारबन्दीका लागि कतैबाट बजेट नआउँदा कवर्डहलको निर्माण कार्य ७ वर्षसम्म पुरा हुन नसकेको हो । निर्माण कार्य पुरा नहुँदा जुन उदे्श्यले कवर्डहल निर्माणको थालनि गरिएको थियो उक्त उदे्श्य पुरा हुन सकेको छैन् ।

विभिन्न इन्डोर गेमहरु संचालन र प्रशिक्षणमा सहज होस भन्ने उदे्श्यले कवर्डहल निर्माण गरिएपनि निर्माण सुरु भएको वर्षौ सम्म निर्माण पुरा नुहँदा उक्त उदे्श्य पुरा हुन नसकेको हो । मार्सलआर्ट, ब्याडमिण्टन, टेबल टेनिस जस्ता इन्डोर गेम तथा भलिबलको प्रशिक्षणका लागि निर्माण गरिएको कबर्डहलको काम पुरा नहुँदा प्रयोगमा आउन सकेको छैन् । प्रयोगमै नआई कबर्डहल जीर्ण बन्दै गएको छ ।

खेलाडि उत्साहित
विभिन्न खेल संचालन तथा अभ्यासका लागि सजिलो होस भनेर कवर्ड हल निर्माण थालिएपनि त्यसले लामो समयसम्म पुर्णता नपाउँदा निराश बनेका खेलाडीहरु कवर्डहल निर्माणको कामले पूर्णता पाउने भएपछि भने खुशि भएका छन् । बाँकी रहेको काम पुरा गर्नका लागि बजेट आउन लागेको खवर पाएपछि खेलाडि तथा खेल प्रशिक्षकहरु खुशि भएका हुन् । जिल्ला ब्याडमिण्टन संघका अध्यक्ष अनिल बुढाले कवर्डहलको निर्माण कार्यले अव पूर्णता पाउँने खवरले खुशि तुल्याएको बताउनुभयो । ब्याडमिण्टनका लागि आवश्यक मैदानको अभाव कवर्डहल निर्माणले पूर्णता पाएपछि हट्ने उहाँको विश्वास छ । अहिले आफुहरुले घाम पानी नभनि खुला आकाशमुनि खेल्न बाध्य भएको र यसले खेलाडिको क्षमता विकासमा बाधा गरिरहेको उहाँको भनाई छ ।

त्यस्तै अन्य खेलाडिहरु पनि कवर्डहलको बाँकी कामका लागि बजेट आउने भएपछि उत्साहित बनेका छन् । अहिले कवर्डहलमा कराते र तेक्वान्दोका खेलाडिहरुले खेलिरहेका छन् । तर वरीपरी खुल्ला हुँदा ठुलो तथा हावा सहितको पानी परेमा कवर्डहल नै पानीले भरिने समस्या रहेको खेलाडिहरुको भनाई छ । निर्माण कार्य सम्पन्न नहुँदा अन्य खेल भने संचालन गर्न सकिएको छैन् ।

 

प्रकाशित मिति: शुक्रबार, मंसिर १९, २०७७  १३:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update