Kakhara सबैको खबर सम्पूर्ण खबर
असिमित माग र आवश्यक्तामा आउने सिमित बजेट नै विकासको बाधक : प्रमुख शर्मा
जिल्ला समन्वय समिति प्रमुख राजकुमार शर्मा ।

जिल्ला समन्वय समिति रुकुम पश्चिमका प्रमुख राजकुमार शर्माले नीति, कार्यक्रम र बजेटको सुरताल मिल्न नसकेको बताउनुभएको छ । नीति, कार्यक्रम जसरी बनाइन्छ त्यसरी बजेट परिचालन गर्न नसक्नु विडम्बना भएको उहाँको भनाई छ । त्रिवेणि गाउँपालिकाको छैठौं गाउँ सभालाई सम्बोधन गर्दे प्रमुख शर्माले असिमिति आवश्यक्ता, माग र चाहनालाई सिमित बजेटले सम्बोधन गर्न नसकिएको बताउनुभयो । स्थानीय सरकारले नीति र कार्यक्रम उत्कृष्ठ बनाउने गरेको र कार्यान्वयनको क्रममा बजेट त्यसको प्रमुख बाधक बन्ने गरेको उहाँले बताउनुभयो ।

‘नीति, कार्यक्रमका दृष्टिले स्थानीय सरकार अब्बल नै देखिएका छन्,’ शर्माले भन्नुभयो, ‘कार्यान्वयनको सन्दर्भमा भने मुख्य चुनौती बजेटले नै बनाउने गरेको तीतो सत्य जगजाहेर नै छ ।’ यसमा प्रदेश र संघ सरकारले उपेक्षा गरेको बुझाई उहाँको छ । काम हुने भनेको स्थानीय तहमै भएकाले यसमा उपरी संरचना, उपरी सरकारको व्यवहार सच्चिनुपर्ने उहाँको सुझाव छ । समग्र विकास निर्माणका लागि जनताको परिचालन नभइ समृद्धि नआउने प्रमुख शर्माले बताउनुभयो ।

राजनीतिक सत्ता परिवर्तण, परिवर्तित सत्ता रक्षाको सन्दर्भमा होस वा विकासका सन्दर्भमा होस जनतासँग सँगै हिडेर मात्रै लक्षमा पुगिनेमा उहाँको जोड छ । स्थानीय वा अन्य कुनै पनि सरकार, राजनीतिक दल जनताप्रति उत्तरदायी हुनुको विकल्प छैन नभएको भन्दै उहाँले जनताप्रति उत्तरदायी नहुनेहरु सकिनु पर्नेप्रति पनि उहाँले ध्यानाकर्षण गराउनुभएको छ । 

त्रिवेणि गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ल्याइएको नीति, कार्यक्रम समग्रमा ठिक भएको भन्दै उहाँले केही छुटेका कुरा थप्न र संशोधनका केही बुँदा सम्झाउनु भएको छ । व्यक्ति परिवार, वस्ति, टोल, गाउँ, वडा हुँदै गाउँपालिकाको समृद्धिका निम्ति आवश्यक पर्ने महत्वपूर्ण बुँदा र नीतिमा ध्यान दिन उहाँले गाउँ सभाको ध्यानाकर्षण गराउनुभएको छ । शिक्षालाई श्रमप्रति सम्मान गर्ने खालको, हरेक नागरिक अनुशासित हुने र घरको पनि व्यवस्थित योजना बन्ने तथा कार्यान्वयनमा सहयोग पुग्ने गरी नीति, कार्यक्रम बन्नुपर्नेमा उहाँको जोड छ । 

स्वास्थ्य अवस्था सुधार गर्नुपर्ने, दैनिक खानपानलाई सन्तुलित बनाउन स्थानीय स्तरमा पाइने खाने कुराको व्यवस्थित उपयोग हुने गरी नीति तथा कार्यक्रम बन्नुपर्ने, हरेक व्यक्तिको स्वास्थ्य परीक्षणलाई अनिवार्य गर्नुपर्ने, किसानलाई डायरी अभियान सञ्चालन र किसानको विवरण अपडेटमा ध्यान दिने गरी कार्यक्रम बन्नुपर्ने सुझाव उहाँको छ । आयआर्जनका लागि रोजगार, स्वरोजगारका लागि व्यक्ति आफै, समूह, सहकारी, टोलहरु लाग्न उहाँले सुझाउनु भएको छ ।  

प्रकाशित मिति: मंगलबार, असार १५, २०७८  १४:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update