रुकुम पश्चिमको ६० प्रतिशत भू–भागमा धान रोपाई सकिएको छ । जिल्लामा वर्षाको भरमा रोपाई नहुने र धान उत्पादन हुने सबै क्षेत्रमा सिचाईको व्यवस्था भएका कारण जिल्लामा यो बेलासम्म ६० प्रतिशत भू–भागमा धान रोपाई सकिएको हो । जिल्लाको एक प्रमुख बालीको रुपमा रहेको धान जिल्लाको अधिकांश ठाउँमा फल्ने गर्छ । जिल्ला धानमा आत्मनिर्भर छ । मानिसमा बाहिरको चामल खाने वानी परेको भए पनि जिल्लामा अन्य खाद्य बालीसँगै मिलाएर भात खाने हो भने पनि जिल्लामा उत्पादन हुने धानले पुग्ने कृषि विकास कार्यालयका निमित्त प्रमुख मिनबहादुर केसीले बताउनुभयो ।
साविकको रुकुम हुँदा प्रमुख बाली मकै रहेकोमा रुकुम पश्चिममा भने धान प्रमुख बालीको रुपमा रहेको छ । जिल्लाको सबै पालिकामा धान फल्ने गरेको निमित्त प्रमुख केसीले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा ३ हजार ४८ हेक्टर क्षेत्रफलमा धान फल्ने गरेको छ । चौरजहारी नगरपालिकामा सबै भन्दा बढि क्षेत्रफलमा धान खेती हुने गरेको उहाँको भनाई छ । सबै भन्दा कम त्रिवेणि गाउँपालिकामा धान रोप्ने गरिएको छ ।
जिल्लाभर १२ हजार ९ सय ५४ मेट्रिक्टन धान फल्ने गरेको छ । यो वर्ष समयमै वर्षा भएका कारण धान उत्पादनमा बृद्धि हुने अनुमान गरिएको निमित्त प्रमुख केसीले बताउनुभयो । पछिल्लो समय जिल्लाका किसान उन्नत जातको धान खेतिमा आर्कषित भएका छन् । किसानले वर्णशंकर धान ८० देखि ८५ प्रतिशत लगाउने गरेका छन् । कृषियन्त्र प्रयोग गर्ने किसानको संख्या पनि बढ्दै गएको छ । चालु आर्थिक वर्षमा कृषि विकास कार्यालय र किसानको साजेदारीमा १ करोडका कृषियन्त्र पनि हस्तान्तरण गरिएको छ । उन्नत जातको धान खेती, कृषि यान्त्रिकरणको कारण पनि पछिल्लाे वर्षा धान उत्पादनमा बृद्धि भैरहेको कृषि विकास कार्यालयले बताएको छ ।