Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसीकोटमा फेला परेको विष्फोटक पदार्थ सेना र प्रहरीको टोलीद्धारा डिस्पोज

रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नं. ४ मुसीकोटडाँडा नजिकै विष्फोटक पदार्थ फेला परेको छ । स्थानीय खेमबहादुर सुनारको बारीमा आज बिहान साढे ९ बजेतिर नेपोलाईड नामक विष्फोटक पदार्थ भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक कपिल शाहीले जानकारी दिनुभयो । 

सुनारले बाँझो बारी खन्ने क्रममा खतरनाक मानिने नेपोलाईड नामक विष्फोटक पदार्थ भेटिएको उहाँको भनाई छ । प्लाष्टिकमा बेरेर गाडिएको अवस्थामा उक्त पदार्थ भेटिएको थियो । उक्त पदार्थ पड्किने अवस्थामा रहेको थियो । त्यसलाई आजै सेना र प्रहरीको टोलीले डिस्पोजल गरेको छ । 

नरसिंह दल गण (ख) गुल्म बोहरागाउँको सेनाको टोली र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले विष्फोटक पदार्थ डिस्पोज गरेको प्रहरी निरीक्षक शाहीले बताउनुभयो । उक्त पदार्थ डिस्पोजल गर्ने बेला ठुलो आवाजमा विष्फोटन भएको उहाँले बताउनुभयो ।

धेरै पुरानो भएपनि पड्किने हालतमा रहेको उक्त पदार्थलाई सकुशल डिस्पोजल गरिएको प्रहरीले जनाएको छ । यो जनयुद्ध कालमै राखिएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । बारी लामो समय देखि प्रयोगमा नरहेको र बाँझो फोडेर खेति गर्न खोज्दा उक्त पदार्थ भेटिएको सूचना अधिकारी शाहीले बताउनुभयो ।  

प्रकाशित मिति: मंगलबार, असार १५, २०७८  १८:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update