कोरोना भाईरसका कारण बन्द भएका मुसीकोट नगरपालिका १ का सामुदायिक तथा संस्थागत विद्यालयहरु आजबाट खुलेका छन् । मुसीकोटमा कोरोना सक्रमित फेला परेपछि थप संक्रमण फैलिन सक्ने भएकाले वडाका सबै विद्यालय बन्द भएका थिए । मंसिर १० गतेबाट बन्द भएका विद्यालयहरु ११ दिनपछि संचालनमा आएका हुन् । जिल्ला प्रशासन कार्यालयले मंसिर १४ गते नै नगरपालिकाले विद्यालय खोल्न सक्ने गरी निर्णय गरेको थियो । नगरपालिकाले विद्यालय आफैले पठनपाठन सुरु गर्नसक्ने भन्दै विद्यालयलाई नै जिम्मेवारी दिएको थियो ।
तर मुसीकोट १ नम्बर वडाले भने सबै बिद्यालय आजबाट खोल्ने निर्णय गरेको थियो । कक्षा १२ को परीक्षा संचालन भइरहेको र जोखिमलाई केहि कम हुन दिने भन्दै प्रशासनले अनुमति दिएको १ सातापछि वडाका विद्यालय संचालनमा आएका हुन् । वडा नं. १ मा सामुदायिक र संस्थागत गरी १ दर्जन विद्यालय रहेका छन् । बिद्यालय खुलेपछि विद्यार्थीहरु बिद्यालय आउन थालेका छन् । संगै बन्द भएका मुसीकोट ५ को बजार क्षेत्रका विद्यालयहरु भने मंसिर १५ गतेदेखि नै संचालनमा आएका थिए ।