Kakhara सबैको खबर सम्पूर्ण खबर
प्रहरीले मापसे गरेर कुटपीट गर्योः संयुक्त विद्यार्थी संगठन (विज्ञप्ती सहित)
बिद्यार्थीलाई कुटपीट गर्दै प्रहरी ।

मापसे गरेर प्रहरीले कुटपीट गरेको भन्दै संयुक्त विद्यार्थी संगठनले दोषीमाथि कारवाहीको माग गरेको छ । संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै तीन बिद्यार्थी संगठनहरुले प्रहरीले मादक पदार्थ सेवन गरेर विद्यार्थीहरु माथी कुटपीट गरेको आरोप लगाएका छन् । कुटपीटमा परि घाईते भएका सम्पूर्ण घाइतेहरुको उपचारको ग्यारेन्टी गर्न, कुटपीटमा संलग्न प्रहरीहरुको उचित छानबिन गर्न, कुटपीटमा संलग्न प्रहरीले मादक पदार्थ सेवन समेत गरेकाले दोषी प्रहरी उपर कानूनी कारबाही गर्न र जिल्ला प्रशासन कार्यालय मार्फत उक्त कुटपीटप्रति आम माफी माग्न जोडदार माग गर्दछौं, विज्ञप्तीमा भनिएको छ । 

बुधबार रुकुम पश्चिमको सदरमुकाम मुसीकोट खलंगामा संसद विघटनको विरोधमा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्या भण्डारीको पुत्ला दहन गर्ने बिद्यार्थीहरुमाथि प्रहरीले लाठी प्रहार गरेको थियो । कुटपीटबाट नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियू क्रान्तिकारीका जिल्ला अध्यक्ष सुशिल विष्ट, सचिव नारायण केसी र विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीका पूर्व जिल्ला उपाध्यक्ष तथा २७औं जिल्ला सम्मेलन आयोजक समिति सदस्य सोम्पाल कामी घाईते भएको विज्ञप्तीमा उल्लेख गरिएको छ । 

‘संघर्ष, बलिदान र आन्दोलनको आँधी बेहरीबाट स्थापित बिद्यार्थी संगठनहरुलाई दमनको दुश्साहस गर्ने फासिस्ट केपी ओलीको गृह प्रशासनलाई विद्यार्थी आन्दोलनको युगिन इतिहासलाई स्मरण गर्न र विद्यार्थीहरुको तागतलाई अवमूल्यन नगर्न चेतावनी सहित आगामी दिनमा केपी ओलीको अराजनीतिक तथा अराजक गतिबिधिका साथै संयुक्त बिद्यार्थी संगठन थप छलफल गरी प्रहरी दमनका बिरुद्ध समेत आन्दोलन गर्ने जानकारी गराउँछौं, विज्ञप्तीमा भनिएको छ ।’

अनेरास्ववियू क्रान्तिकारीका केन्द्रिय सदस्य सुन्दर शर्मा, अखिल क्रान्तिकारीका जिल्ला संयाेजक प्रेमप्रशान्त बाेहरा र अनेरास्ववियुकी केन्द्रिय सदस्य भावना शर्माले संयुक्त विज्ञप्ती निकाल्नुभएकाे छ । प्रहरीले भने यसको खण्डन गरेको छ । जिल्ला प्रहरी कार्यालय सूचना अधिकारी तथा प्रहरी निरीक्षक कपिल शाहीले मापसे सेवन गरेको भन्ने आरोपमा सत्यता नभएको बताउनुभयो । अवस्थालाई सामान्य अवस्थामा ल्याउन सामान्य बल प्रयोग भएपनि ठूलो घटना नभएको उहाँको भनाई छ । 
 

प्रकाशित मिति: बुधबार, असार १६, २०७८  २३:००
प्रतिक्रिया दिनुहोस्
Weather Update