रुकुम पूर्वमा पत्रकार विपत् कोष खडा गरिएको छ । प्रमुख जिल्ला अधिकारी राजकुमार राईको प्रस्तावमा पत्रकार विपत् कोष स्थापना गरिएको हो । कोषको बुधबार उद्धघाटन समेत गरिएको छ । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं पूर्वमन्त्री गणेशमान पुन, सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बराल र प्रमुख जिल्ला अधिकारी राजकुमार राईले संयुक्त रुपमा पानसमा बत्ति बालेर कोषको उद्धघाटन गर्नुभयो ।
विपतमा परेका नागरिकहरुलाई पत्रकारहरुको तर्फबाट सहयोग गर्ने उदे्श्यले विपत कोष खडा गरिएको हो । कोष स्थापना संगै कोषमा रकम जम्मा हुन समेत सुरु भएको छ । कोषमा पूर्व मन्त्री पुनले पाँच हजार सहयोग गर्नुभएको छ । यसैगरी सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बराल, प्रमुख जिल्ला अधिकारी राजकुमार राई, सिस्ने गाउँपालिका उपाध्यक्ष गोबरधन बुढा, रेडियो पूर्वी रुकुम सञ्चालक समितिका अध्यक्ष लालबहादुर बिसीले पनि पाँच पाँच हजार सहयोग गर्नुभएको छ । यसैगरी जिल्ला प्रहरी प्रमुख गणेशबहादुर श्रेष्ठले पाँच हजार ५ रुपैँया र रेडियो पूर्वी रुकुमकी समाचार सम्पादक एवं रासस समाचारदाता सर्जना कार्कीले एक हजार ७ सय रुपैंया कोषमा सहयोग गर्नुभएको छ ।
जिल्लास्थित अन्य पत्रकारहरुले पनि कोषमा आफुले सकेको रकम जम्मा गर्ने प्रतिबद्धता जनाएका छन् । पत्रकार विपत कोष उद्धघाटन कार्यक्रममा बोल्दै पूर्वमन्त्री पुनले विपतका घटना भएमा पत्रकारले समाचारको माध्यामबाट मात्र नभई राहत उपलब्ध गराएर पनि सहयोग गर्ने यो अभियान निकै सकारात्मक भएको बताउनुभयो । यो कोषलाई प्रभावकारी रुपमा सञ्चालन गर्न र यसले बोकेको लक्ष प्राप्तिमा ध्यान दिएर काम गर्न सुझाव समेत दिनुभएको छ ।