Kakhara सबैको खबर सम्पूर्ण खबर
चौरजहारी पिसीआर प्रयोगशालालाई स्वास्थ्यका लागि सक्षम प्रणालीकाे सहयाेग 

रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा सञ्चालित पिसीआर प्रयोगशालालाई सहयोग गरिएको छ । युएसएआडीको आर्थिक सहयोगमा सञ्चालित स्वास्थ्यको लागि सक्षम प्रणाली परियोजनाले प्रयोगशालालाई विभिन्न स्वास्थ्य सामाग्रीहरु सहयोग गरेको हो । एक कार्यक्रमका बिच स्वास्थ्यको लागि सक्षम प्रणालीका स्वास्थ्य सूचना अधिकृत ऋषिप्रसाद न्यौपाने र स्वास्थ्य प्रणाली अधिकृत सुर्य थापाले ल्यामिनार फ्लो र बायो सेफ्टि क्याबिनेट चाैरजहारी नगरपालिकाकी उप प्रमुख राधा रोकालाई हस्तान्तरण गर्नुभयो ।

सामान ग्रहण गर्दै उप प्रमुख रोकाले स्वास्थ्यको लागि सक्षम प्रणालीले कोरोना रोकथाम एवं नियन्त्रणमा उत्कृष्ट काम गरेको र आगामी दिनहरूमा पनि त्यस्तै कामको अपेक्षा गरेको बताउनुभयो । यस्तै कार्यक्रममा बोल्दै स्वास्थ्यको लागि सक्षम प्रणालीका स्वास्थ्य अधिकृत न्यौपानेले यस अघि पनि नाइट्राइल ग्लोभ्स र माइनस २० डिग्रीकाे फ्रिज, भोर्टेक्स मेसिन, १ सय लिटरको अटोक्लेभ मेसिन, पावर ब्याक अप युनिट, स्पिनर, सेन्ट्रिफ्युज र हेन्ड वासिङ स्टेसन हस्तान्तरण गरिसकेको बताउनुभयो । केही दिन अगाडि मात्र कर्णाली प्रदेशलाई ८ करोड बराबरको स्वस्थ्य सामाग्री हस्तान्तरण गरिएको पनि उहाँले जानकारी गराउनुभएको थियो । 

स्वास्थ्यको लागि सक्षम प्रणालीले पहिला पनि हेल्थ इमर्जेन्सीको बेला डिसीसीएमसी बैठक, आइसोलेसनमा सहयोग, हरेक हेल्थ पोस्टमा आईपिसी सामाग्रीहरु (मास्क, स्यानिटाइजर, सोडियम हाइपाेक्लाेराइट, स्प्रे ट्यांक, टप तथा युटिलिटी ग्लोभ्स) रेकर्डिङ एवं रिपोर्टिङमा सहयोग गर्दै आएको स्वास्थ्यको लागि सक्षम प्रणालीका हेल्थ इमरजेन्सी अफिसर वासुदेव सावकोटाले जानकारी दिनुयो । उहाँका अनुसार जिल्लामा अहिलेसम्म करिब ५० लाख बढीका स्वास्थ्य सामग्रीहरु सहयोग गरिएको छ । 

त्यस्तै सिआईसीटी टीमहरूलाई प्रशिक्षक प्रशिक्षण तालिम, आइशोलेसनमा कार्यरत कर्मचारीहरुलाइ बिरामी ब्यवस्थापन एवं उपचार सम्बन्धी तालिम, एम्बुलेन्स ड्राइभरहरुलाइ बिरामी ब्यवस्थापन एवं सुरक्षित स्थानान्तरण सम्बन्धी तालिम, ल्याबका कर्मचारीहरुलाई एन्टीजेन टेस्ट र ढुवानी सम्बन्धी तालिम सिआईसीटी टिमहरूलाई पालिका स्तरीय तालिम, संक्रमण रोकथाम एवं नियन्त्रण सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम, संक्रमण रोकथाम एवं नियन्त्रण सम्बन्धी हरेक हेल्थ पोस्टका कर्मचारीहरुलाइ तालिम पनि दिईएको उहाँले बताउनुभयो ।

प्रकाशित मिति: बिहीबार, असार १७, २०७८  १०:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update