Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसीकोट १० बाट डेढ सय क्विन्टल लसुन निर्यात, साढे १५ लाख रुपैंया वडा भित्रियो 

रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नं. १० बाट डेढ सय क्विन्टल लसुन निर्यात भएको छ । वडाका विभिन्न टोलबाट १ सय ५३ क्विन्टल लसुन जिल्ला बाहिर निर्यात भएको हो । दुई चरणमा गरेर लसुन निर्यात भएको किसानहरुले बताएका छन् । लसुनबाट यो वर्ष वडामा साढे १५ लाख बढी रुपैंया भित्रिएको छ । किसानले लसुनमा दुई वटा मुल्य पाएका छन् । पहिलो चरणमा १ सय रुपैंया प्रति किलोमा बिक्रि भएको लसुन दोस्रो चरणमा भने प्रति किलो १ सय ६ रुपैंयामा बिक्रि भएको छ । व्यापारीहरुले गाउँमै पुगेर लसुन खदिर गरि लगेका हुन् । 

१ सय ८ क्विन्टल लसुनले प्रतिकिलो १ सय रुपैंया मुल्य पाउँदा दोस्रो चरणमा बिक्रि भएको ४५ क्विन्टल लसुनले प्रतिकिलो १ सय ६ रुपैंया मुल्य पाएको वडा सदस्य धनवहादुर खड्का ‘बसन्त’ले जानकारी दिनुभयो । लसुनबाट वडामा १५ लाख ५७ हजार रुपैंया भित्रिएको उहाँको भनाई छ । एउटै किसानले कममा ५० किलो देखि बढिमा १३ क्लिन्टलसम्म लसुन बिक्रि गरेका छन् । वडा कार्यालयका अनुसार गत वर्षको तुलनामा यो वर्ष लसुन उत्पादन बढेको छ । गत वर्षको तुलनामा ४० क्विन्टल बढी उत्पादन भएको वडा सदस्य खड्काले बताउनुभयो । 

यसका अलावा किसानहरुले गतवर्षको तुलनामा यो वर्ष वीउ पनि बढी राखेको उहाँको भनाई छ । वडाका खड्का टोल, गलम्पाटी, चौर लगायतका टोलमा लसुन उत्पादन हुने गरेको छ । पछिल्ला वर्षहरुमा वडामा लसुन उत्पादक किसानहरुको संख्या बढिरहेको छ । पहिले केहि टोलका किसानले मात्र लसुन खेती गर्ने गरेकामा हाल भने वडाका सबैतिर लसुन खेति गर्न थालिएको वडाध्यक्ष गोप्यश्वर केसीले बताउनुभयो । वडाले लसुनको वीउ वितरण देखि लसुनको बजारीकरणमा सहयोग गरेपछि वडावासीहरु लसुन उत्पादनमा आकर्षित भएको उहाँले बताउनुभयो । 

उहाँका अनुसार सुरुमा ५० रुपैंया पनि मुल्य पाउन मुश्किल भइरहेको अवस्थामा हाल भने घरबाटै १ सय ६ रुपैंयासम्म मुल्य परेको केसीले बताउनुभयो । यसमा वडाले व्यापारीहरुलाई गाउँसम्म ल्याउने र मुल्यका लागि सहजिकरणको भुमिका खेल्ने गरेको उहाँको भनाई छ । पहिले वडावासीले डोकोमा बोकेर बजारसम्म ल्याएर लसुन बिक्रि गर्ने गरेका थिए । वडाले आर्थिक वर्ष २०७४/०७५ देखि वडावासीले उत्पादन गर्ने लसुनको बजारीकरणका लागि पहल गर्न सुरु गरेको थियो । त्यसपछि आर्थिक वर्ष २०७५/०७६ मा २५ क्विन्टल लसनुको वीउ वडावासीलाई बितरण गरिएको थियो । 

त्यसैबाट उत्पादन गरेर वडावासीले अहिलेसम्म वीउको व्यवस्था गर्ने गरेको वडा कार्यालयले जनाएको छ ।  
 

प्रकाशित मिति: बिहीबार, असार १७, २०७८  १४:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update