बाँफिकोट गाउँपालिकामा त्रिपक्षिय अन्तरक्रिया तथा अन्तर सम्वाद कार्यक्रम सम्पन्न भएको छ । ४ नम्बर वडाको छिन्खेतमा सहिद परिवार समाज नेपाल बाँफिकोट गाउँपालिकाको आयोजनामा कार्यक्रम गरिएको हो । नेपाल कम्युनिष्ट पार्टी नेकपा बाँफिकोट गाउँपालिका कमिटि, सहिद परिवार समाज बाँफिकोट गाउँपालिका र बाँफिकोट गाउँ कार्यपालिकाबीचको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सहिद परिवारहरुले पार्टी र सरकारप्रति गुनासा, जिज्ञासा र सुझाव राखेका थिए ।
लामो समयदेखि सहिद परिवारलाई वेवास्ता गरिएको, सहिदको नामबाट बन्न थालेका संरचना अलपत्र छाडेको, सहिद परिवार भेटघाट तथा छलफल नगरेको गुनासो सहिद परिवारको थियो । सहिद परिवारको गुनासो उपर नेकपा स्थायी कमिटि सदस्य जनार्दन शर्माले फोन मार्फत सम्बोधन गर्नुभएको थियो । उहाँले सहिदले देखाएको बाटोमा पार्टी निरन्तर लागिरहेको र सहिद परिवाप्रतिको सम्मान अँझ बढेर गएको बताउनुभयो । सहिद स्मृति भवन निर्माण तथा मेलगैरीमा केही संरचना बनाउन आवश्यक बजेट दिइएको पनि नेता शर्माले उक्त अवसरमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा नेकपाका जिल्ला सह इन्चार्ज वसन्तकुमार शर्मा कुशल, कर्णाली प्रदेश सदस्य महेन्द्र केसी पारसमणि, जिल्ला कमिटि सचिव विमलकुमार पुन, बाँफिकोट गाउँपालिका अध्यक्ष धर्मबहादुर केसी, जिल्ला समन्वय समिति उपप्रमुख इन्दिरा विएम, उपाध्यक्ष मनकला पुन र त्रिवेणि गाउँपालिका उपाध्यक्ष निर्मला विष्टको आतिथ्यता रहेको थियो । लामो समयदेखि सम्वाद नभइरहेको बेला पार्टी र सरकार तथा सहिद परिवारकाबीच दोहोरो छलफल होस्, गुनासा पार्टी र सरकारलाई सुनाउन पाइयोस भनेर कार्यक्रमको आयोजना गरिएको सहिद परिवार समाज बाँफिकोट गाउँपालिका अध्यक्ष धनबहादुर खत्रीले बताउनुभयो ।
यसैबीच बाँफिकोट गाउँपालिकाले सहिद परिवारलाई सम्मान गरेको छ । प्रति परिवार एक/एक वटा प्रेसर कुकर र खादाले सहिद परिवारलाई सम्मान गरिएको थियो । गाउँपालिकाले हरेक वर्ष जस्तै यो वर्ष पनि सहिद परिवारलाई सम्मान गरेको जनाएको छ । आगामी दिनमा सहिद परिवारका निम्ति बजेट विनियोजन गर्ने र त्यसबाट आयआर्जनमा समेत सहयोग पुग्ने गरी नीति, कार्यक्रम बनाइने कार्यपालिकाले जनाएको छ ।