Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा निषेधाज्ञा थपियाे, निजी सवारी साधन संचालन हुन पाउने  

रुकुम पश्चिममा सातौं पटक निषेधाज्ञा थप भएको छ । जिल्ला प्रशासन कार्यालयले आज राती १२ बजेदेखि असार २५ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरेको छ । पछिल्लो पटक थप गरिएको निषेधाज्ञाको समय आज राती १२ बजे सकिनै लाग्दा आज प्रशासनले एक साताका लागि निषेधाज्ञा थपेको हो ।  

जिल्लामा संक्रमण दर घट्दै गएको भएपनि ग्रामिण भेगमा संक्रमण दर तुलनात्मक रुपमा उच्च नै रहेको र मृत्युको जोखिम कायमै रहेकोले निषेधाज्ञा एक साता लम्ब्याईएको प्रशासनले सूचना जारी गरी जानकारी गराएको छ । जिल्ला कोभिड व्यवस्थापन समिति (डिसीएमसी)को सिफारिस समेतका आधारमा जिल्लामा निषेधाज्ञा थप भएको डिसीएमसीका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताउनुभयो । 

अहिलेकै जस्तो गरी निषेधाज्ञा जारी रहने उहाँको भनाई छ । अहिले संचालनमा रहेका सेवा यही अनुसार खुला रहने र सार्वजनिक सवारी साधन भने संचालन हुन पाउँने छैनन् । तर अव जिल्लामा निजी सवारी साधनहरु भने संचालन हुन पाउँने भएका छन् । चार पांग्रे सवारी साधन कार, जीप, भ्यान, ट्याक्सीमा चालक सहित बढीमा ४ जना बोक्न पाईने छ । त्यस्तै दुई पांग्रे सवारी साधन पनि चल्न पाउँने छन् । तर जिल्ला भित्र मात्र संचालन हुन पाउँने प्रजिअ गैह्रेले बताउनुभयो । 

अत्यावश्यक बाहेकका अन्य सेवा भने अझैपनि संचालन नहुने उहाँको भनाई छ । त्यस्तै यसअघि खुला गरिएका सेवाहरु अव पनि दैनिक आलोपालो गरी संचालन हुन पाउने छन् । जिल्लामा यो संगै सातौं पटक निषेधाज्ञा थप भएको छ । बैशाख १९ गतेदेखि लगातार जिल्लामा निषेधाज्ञा जारी छ । 
 

प्रकाशित मिति: बिहीबार, असार १७, २०७८  १५:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update