रुकुम पश्चिमका विद्यार्थी संघ, संगठनले प्रहरीलाई कारबाहीको माग गरेका छन् । जिल्ला प्रशासन कार्यालयले ज्ञापन पत्र बुझाउँदै विद्यार्थी संघ, संगठनले बुधबार विद्यार्थी नेताहरुमाथी कुटपिट गर्ने प्रहरीलाई कारबाहीको माग गरेका हुन् । नेपका माओवादी केन्द्र निकट अनेरास्ववियू क्रान्तिकारी, विप्लव नेकपाको अखिल क्रान्तिकारी र एमाले निकट अनेरास्वयुले सयुंक्तले ज्ञापन पत्र बुझाउँदै दोषि प्रहरी उपर कानूनी कारबाहीको माग गरेका छन् ।
अनेरास्ववियूका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज सुन्दर शर्मा, अखिल क्रान्तिकारीका जिल्ला संयोजक प्रेमप्रशान्त बोहरा र अनेरास्ववियुकी केन्द्रीय सदस्य भावन शर्माले कुुटपिटमा संलग्न प्रहरीको छानविन गरी कानूनी कारबाहीको माग गरेका छन् । कुटपिटबाट घाइते भएकाको उपचारको व्यवस्था, विद्यार्थी नेताहरुमाथी भएको दमनप्रति सार्वजनिक माफि माग्नुपर्ने माग पनि उनिहरुको छ । आगामी दिनमा यस्ता कार्य नदोहार्याउन तथा सयुंक्त रुपमा राखिएका माग सम्बोधन नगएपछि उत्पन्न हुने परिस्थितिको जिम्मा स्वयम सम्बन्धित निकाय हुनुपर्ने चेतावनी पनि ज्ञापन पत्रमा उल्लेख छ ।
अनेरास्ववियू क्रान्तिकारीका जिल्ला सह इन्चार्ज तुल देवकाेटा, बाेहरा र शर्माले प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेलाई ज्ञपान पत्र बुझाएको अनेरास्ववियू क्रान्तिकारीका जिल्ला सचिवालय सदस्य विशाल विष्टले जानकारी दिनुभयो । ज्ञापन पत्र बुझ्दै प्रजिअ गैह्रले आवश्यक छानविन र त्यसै अनुसार काम अघि बढाउने बताउनुभयो । बुधबार प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहनको कार्यक्रममा प्रहरीले दमन गरेको थियो । पुत्ला दहनको कार्यक्रम सकिएपछि प्रहरीले विद्यार्थी नेताहरुमाथी लाठी प्रहार गरेको थियो । सामान्य अवस्थामा बसेका विद्यार्थीलाई प्रहरीले पक्रेर लाठी हानेको थियो । प्रहरीको कुटपिटबाट अनेरास्ववियू क्रान्तिकारीका अध्यक्ष शुशिल विष्ट, सचिव नारायण केसी, अखिल क्रान्तिकारीका जिल्ला सम्मेलन आयोजक समिति सदस्य सोम्पाल कामी घाइते भएका छन् ।