रुकुम पश्चिमको त्रिवेणि गाउँपालिकाले सभा हाल निर्माण गरेको छ । गाउँ सभा तथा अरु कार्यक्रम सञ्चालनमा सहजता नभएपछि गाउँपालिकाले नयाँ सभा हल निर्माण गरेको हो । ३ नम्बर वडाको खारानेटा स्थित गाउँपालिका नजिकै सभा हल बनाइएको छ । चालु आर्थिक वर्ष २०७७/०७८ को बजेटबाट सभा हल निर्माण गरेको हो । दुई सय जना अट्ने क्षमताको सभा हल निर्माण भएर पनि सञ्चालनमा आइसकेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रमेश पुनले जानकारी दिनुभयो । गाउँ सभा सञ्चालन तथा अरु विभिन्न कामकाजका लागि सभाहल आवश्यक भएकाले यो निर्माण गरिएको पुनले बताउनुभयो ।
सभा हल नहुँदा गाउँ सभा सञ्चालन तथा अरु विभिन्न कार्यक्रम गर्न असहजता थियो । ४७ लाख ७६ हजारमा उक्त सभा हल निर्माण भएको हो । गाउँपालिकाको ४२ लाख ३६ हजार ८ सय ६८ र अरु उपभोक्ता निर्माण समितिको श्रमदान गरी उक्त सभा हल निर्माण सम्पन्न भएको हो । यस अघि गाउँपालिकाले प्रशासनिक भवन निर्माण गरेको छ । दैनिक प्रशासन सञ्चालनमा असहजता आएको भन्दै गाउँपालिकाले प्रशासनिक भवन निर्माण गरेको थियो । स्थानीयले गाउँपालिकाका लागि २६ रोपनी बढी जग्गा दान गरेका छन् ।