नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले स्वर्गिय टेकबहादुर पुन छाँयाको श्रदाञ्जली सभा सम्पन्न गरेको छ । जिल्ला सचिवालय सदस्य तथा सानीभेरी गाउँपालिका अध्यक्ष रहनु भएका छाँयाको सम्झनामा सानीभेरी गाउँपालिका २, गिठाकोटमा माओवादी पार्टीले श्रदाञ्जली सभा आयोजना गरेको हो । गत जेठ २४ गते राती चितवनमा उपचारका क्रममा छाँयाको निधन भएको थियो । जिल्ला पार्टी कमिटिले गाउँमै गएर श्रदाण्ञ्जली सभा गरेको हो । उहाँको मृत्यु भएको २५ औं दिनमा श्रदाञ्जली सभा आयोजना गरिएको हो ।
श्रदाञ्जली सभालाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज राजकुमार शर्माले छाँयाको अभाव महशुस भइरहेको बताउनुभयो । पार्टी, क्रान्ति र जनताप्रति प्रतिबद्ध छाँयाको निधनले पार्टीलाई अपुरणिय क्षेती पुगेको बताउनुभयो । पार्टी र क्रान्तिको एउटा बलियो खम्बाको रुपमा रहनुभएका छाँयाको क्रान्ति, जनता,जनजिविकाप्रतिको चिन्ता र कार्यशैली सदा सम्झना लायक रहेको शर्माको भनाई छ । सरल स्वभाव, साम्यवादी चिन्तन, जनवादी कार्यशैली पार्टी र जनताको हितलाई स्वार्थमा राख्ने छाँयाको अभाव पार्टीमा सधै खड्की रहने भनाई इन्चार्ज शर्माको छ ।
जिल्ला अध्यक्ष तथा कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले मृतक छाँयाप्रति श्रदाञ्जली अर्पन गर्दै परिवारजन र सम्पूर्ण पार्टी पंतिमा समवेदना प्रकट गर्नुभयो । पार्टी, संगठन निर्माण र विकास निर्माणका छाँयाले अघि सारेका योजना,लक्ष पूरा गर्नका लागि पार्टी तयार रहेको प्रतिबद्धता अध्यक्ष शर्माले गर्नुभएको छ । छायाको जीवनीबारे उहाँका दाइ मानबहादुर पुनले जानकारी गराउनुभएको थियो ।