रुकुम पश्चिममा अनौठो घटना भएको छ । शुक्रबार बेलुकी पानै ६ बजे आठबीसकोट नगरपालिका ३, खदीमा खुकुरी हानाहान भएको छ । तलिगाउँ र माथिगाउँका युवाबीच झडप भएको हो । झडपको विषय भने मानवीय होइन । निर्माण कार्यमा चलिरहेको ट्याक्टर र घोडाको विषयलाई लिएर झडप हुँदा माथि गाउँका गोपाल विक र राजु विक गम्भिर घाइते भएका छन् ।
उनिहरुमाथी तलिगाउँका गोपाल बोहरा लगायतको टोलीले खुकुरी हानेको बताइएको छ । ट्याक्टरको पछाडीको भागले त्यो भन्दा पछि रहेको घोडालाई छोएको थियो । ट्याक्टर पछि सार्ने क्रममा चोट लागेर घोडा घाइते भएको निहुमा दुई गाउँबीचको झडप भएको हो । तलिगाउँका मदन बोहराकाे उक्त घोडा पनि निर्माण कार्यमा ढुङ्गा बोक्न प्रयोग गरिएको प्रहरीले जनाएको छ । दुई गाउँको झडपमा दुई जना घाइते भएको र उपचारका लागि अस्पताल लैजान थालिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ध्रुवकुमार श्रेष्ठले बताउनुभयो ।
घाइतेलाई लिनका लागि एम्बुलेन्स पठाइएको छ । सडक अवरुद्ध भएको ठाउँसम्म गाउँलेले नै घाइतेलाई स्ट्रेचरमा ल्याइरहेका छन् । घटना संलग्न भएको आरोपमा गोपाल बोहरा लगायतका केही मानिसलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । यद्यपी घटनाको थप विवरण भने आउन बाँकी रहेको डिएसपी श्रेष्ठले बताउनुभयो । यी दुई गाउँबीच विभिन्न वाहानामा पटक पटक झडप हुँदै आएको छ ।