नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र रुकुम पूर्व सिस्ने गाउँपालिकाको बैठक बसेको छ । बैठकमा कोरोना महामारीमा पार्टी, संगठनको भूमिका गाउँ गाउँमा यसबारे कसरी सचेतना जगाउन सकिन्छ भन्ने विषयमा छलफल भएको छ । बैठकमा कोरोनाको दोस्रो भेरियन्टबाट भएको सिकाई र तेस्रो भेरियन्टको सामना कसरी गर्न सकिन्छ, त्यसमा पार्टी, संगठनको भूमिका के होला भनेर पनि छलफल भएको सचिव कर्णबहादुर खत्रीले जानकारी दिनुभयो ।
कोरोना महामारीबाट बच्न र बचाउन पार्टी वडा, टोल, वस्ति र सेल सम्म परिचालन हुने निर्णय भएको छ । विज्ञहरुले तेस्रो भेरियन्ट पनि आउने भनेर पूर्वानुमान गरेको भएर त्यसको तयारीमा सिंगो पार्टी जुट्ने गरी निर्णय भएको सचिव खत्रीले जानकारी दिनुभयो । यसको साथै पार्टी सदस्यता वितरण, नविकरण, संगठन निर्माण, पुनःनिर्माण गर्ने गरी पनि छलफल भएको छ । स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गरेर पार्टीका गतिविधि र कोरोनाबारेको सचेतना फैलाउने गरी निर्णय भएको सचिव खत्रीले बताउनुभयो ।
बैठकलाई सम्बोधन गर्दै नेता गणेशमान पुनले जनताको सुरक्षाका लागि खटनपटन गर्न नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । कोरोना महामारी, विपदमा नेता कार्यकर्ताहरु जनतासितै रहनुपर्ने र त्यसका लागि आवश्यक कार्य योजना बनाई कार्यान्वयनमा लाग्न नेता पुनको आग्रह छ । सेल, वडा र गाउँपालिका पार्टी समिति तदारुक्ताका साथ जनताको काममा र जनतासँगै रहन उहाँले आग्रह गर्नुभयो । बैठकमा केन्द्रीय सदस्य तेजबहादुर ओली, जिल्ला अध्यक्ष मेघबहादुर श्रेष्ठ लगायतको पनि उपस्थिति रहेको थियो ।