रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाको बजेट पास भएको छ । असार १० गते गाउँसभामा पेश भएको आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट शनिबार गाउँ सभाको दास्रो बन्द शेसनले पास गरेको हो । गाउँपालिका उपाध्यक्ष मनकला पुनले असार १० गते गाउँसभामा पेश गरेको बजेट गाउँसभाको दोस्रो बन्द शेसनले पास गरेको गाउँ कार्यपालिका प्रवक्ता मनवहादुर केसीले जानकारी दिनुभयो ।
गाउँसभामा पेश भएको सिंगो ४६ करोड ६७ लाख ६२ हजार बजेट पास भएको नीति तथा कार्यक्रममा समावेश योजनामा ब्रेक डाउन गर्दै पास भएको उहाँले बताउनुभयो । गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि किसान भत्ता सहितका कार्यक्रम ल्याएको छ । स्विकृत वार्षिक कार्यक्रमका लागि बजेट ब्रेक डाउन गर्दै पास गरिएको हो । गाउँपालिकाले आगामी वर्ष ५५–५९ वर्षका दलित र ६०–६९ वर्षसम्मका गैरदलित किसानलाई मासिक ५ सय भत्ता दिने कार्यक्रम बनाएको छ ।
उक्त कार्यक्रम सहित भौतिक पूर्वाधार विकास, शिक्षा तथा स्वास्थ्य, वन, पशु पंक्षी, कृषि, युवा स्वरोजगार, कृषि अनुदान, महिला, दलित, जनजाती, अपांग, जेष्ठ नागरिक लगायत सबै क्षेत्रलाई सम्बोधन गरेर बजेट बाँडफाँड गरिएको गाउँ कार्यपालिका प्रवक्ता केसीले बताउनुभयो । आगामी वर्षको नीति, कार्यक्रम भने असार १० गतेकै गाउँसभाले आवश्यक छलफल पश्चात पारित गरिसकेको थियो । अव आगामी वर्षका लागि गाउँपालिकाको नीति, कार्यक्रम र बजेट दुवै पास भइ श्रावण १ गतेबाटै कार्यान्वनका लागि बाटो खुला भएको छ ।
स्थानीय तहहरुले असार १० गते भित्र नीति, कार्यक्रम र बजेट ल्याउनुपर्ने र असार मसान्तभित्र पास गरिसक्नुपर्ने प्रावधान रहेको छ ।