मापदण्ड नपुगेको भन्दै केहि समय अघि बाख्रा फिर्ता गरेको रुकुम पश्चिमको मुसीकोट नगरपालिकाले आँप र लिचिका विरुवा फिर्ता पठाएको छ । नगरपालिकामा आईपुगेका विरुवाको जात नखुलेपछि नगरपालिकाले उक्त विरुवा आज फिर्ता पठाएको हो । नगरको कृषि शाखा मार्फत खरिद गरिएका २ हजार आँप र ५ सय लिचिका विरुवाको जात पहिचान नभएपछि फिर्ता पठाईएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरी तिवारीले जानकारी दिनुभयो ।
किसानको मागका आधारमा नगर कृषि शाखाले खरिद गरेका विरुवा नगरपालिकामा आईपुगेपछि ति विरुवाको स्वस्थता प्रमाण र कुन जातका हुन भनेर खोजतलास गर्दा कुनै प्रमाण फेला नपरेपछि फिर्ता गरिएको उहाँले बताउनुभयो । नगरपालिकाको कार्यालयमा झार्ने वित्तिकै विरुवाका बारेमा सोधपुछ गरेको र केही नभेटिएपछि तत्कालै फिर्ता गरिएको उहाँको भनाई छ । साढे २ लाखमा खरिद गरिएका विरुवाको कुनै कागज प्रमाण नभेटिएको तिवारीले बताउनुभयो ।
‘आज नगरपालिकामा २ हजार आँप र ५ सय लिचिका विरुवा आइपुगे, त्यसपछि हामीले कुन जातका हुन् ?, विरुवाको स्वास्थ्य स्थिति के हो ? भनेर हेर्न खोज्यौं, उहाँले भन्नुभयो–तर न सप्लायर्सले यसको प्रमाण दिन सक्यो न कृषि शाखाले नै, त्यसपछि विरुवा फिर्ता गरेका हौं ।’ विरुवा अर्डर गरेको कृषि शाखाले पनि यसबारेमा स्पस्ट पार्न नसकेको र विरुवा सप्लायर्सले पनि केहि प्रमाण देखाउन नसकेपछि गडबडि भएको हुनसक्ने भन्दै विरुवा फिर्ता गरिएको उहाँले बताउनुभयो ।
उक्त विरुवा रौतहटबाट ल्याईएको थियो । विरुवा ल्याउने सप्लायर्स पनि रौतहटकै भएको बताईएको छ । त्यस्तै कृषि शाखाले विरुवा खरिदमा राम्रो समन्वय गर्न नसकेको भन्दै अव नगरपालिका आफैले किसानको मागका आधारमा जिल्ला भित्रबाटै विरुवा खरिद गर्ने जनाएको छ । नगरपालिकाले केही समय अगाडि मापदण्ड विपरित रहेको भन्दै २६ वटा बाख्रा फिर्ता पठाएको थियो ।